Logo
४ वैशाख २०८३, शुक्रबार

दार्चुलामा ठगुन्नाको कमब्याक अभियानमा मुख्य बाधक कांग्रेस

अक्षरपाटी
२०८२ फागुन २ , शनिबार ११:०२ मा प्रकाशित

दार्चुला। दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाको प्रतिनिधिसभाको एक सिटका लागि यसपटक विभिन्न राजनीतिक दलबाट ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

सबै उम्मेदवार अहिले आफ्नो पक्षमा मत माग्न घरदैलोदेखि चुनावी सभासम्म सक्रिय बनेका छन्।

दार्चुलामा विगतदेखि नै नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। यसपटक नेकपा एमालेबाट पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अघि बढाएका छन्।

सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका ठगुन्ना दार्चुलाको परिचित राजनीतिक अनुहार हुन्। उनी यसपटक गुमेको साख फर्काउने र संसदीय राजनीतिमा तेस्रो जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा छन्।

उनले दार्चुलामा थुप्रै समस्याहरु भएको र ती समस्या हल गर्न एमालेले तयार रहेको बताए। दुईपटक चुनेर पठाउँदा र मन्त्री हुँदा के गर्याै भन्नेहरुलाई उनले ‘विकास निर्माणका काम अघि बढाएर सडक पूर्वाधारको काम भइरहेको’ बताए।

राजनीतिक यात्रालाई हेर्दा ठगुन्ना २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए। तर २०७९ सालको निर्वाचनमा भने उनी तीनदलीय गठबन्धनका उम्मेदवारसँग पराजित हुन पुगेका थिए।

त्यतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका कारण कांग्रेसका दिलेन्द्रप्रसाद बडुसँग ठगुन्ना २ हजार १३४ मतले पराजित भएका थिए।

बडुले २८ हजार ५१५ मत प्राप्त गर्दा ठगुन्नाले २६ हजार ३८१ मत पाएका थिए। यसपटक भने बडु चुनावी मैदानमा छैनन्। बदलिएको राजनीतिक समीकरण, गठबन्धनको अभाव र आफ्नो व्यक्तिगत प्रभावका कारण पुनः जित हासिल गर्नेमा ठगुन्ना विश्वस्त देखिन्छन्।

स्थानीय तहमा एमालेको बलियो संगठन उनको मुख्य आधार बनेको छ। एमालेले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकाको नेतृत्व जितेको छ भने लेकम गाउँपालिकामा पनि पार्टीको पकड राम्रो रहेको एमालेको दाबी छ।

यता नेपाली कांग्रेसले धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ। नयाँ अनुहारमार्फत मतदातालाई आकर्षित गर्ने कांग्रेसको रणनीति भए पनि पूर्वमन्त्री बडुजस्तो प्रभावशाली नेताको अनुपस्थिति र पार्टीभित्रको आन्तरिक गुटबन्दी जोशीका लागि चुनौती बन्न सक्ने आकलन गरिएको छ। उनलाई एमालेको बलियो संगठनसँग प्रतिस्पर्धा गर्नुपर्ने दबाब पनि छ।

यसैगरी, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ऐतिहासिक जित निकालेका लक्ष्मणदत्त जोशी पनि यसपटक नेकपाबाट उम्मेदवार बनेका छन्। लामो समय संसदीय राजनीतिबाट टाढा रहेका जोशी पुनः चुनावी मैदानमा फर्किएसँगै प्रतिस्पर्धा थप रोचक बनेको छ।

दार्चुलाको चुनावी इतिहास हेर्दा यहाँ मुख्यतः कांग्रेस र एमालेकै वर्चस्व रहँदै आएको छ। २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी र २०६४ सालमा माओवादीले जितेको बाहेक अन्य अधिकांश निर्वाचनमा यी दुई दलबीच नै प्रतिस्पर्धा हुँदै आएको छ।

निर्वाचन कार्यालयका अनुसार दार्चुलामा यसपटक कुल ९२ हजार ९४८ मतदाता रहेका छन्। दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले यस पटककाे निर्वाचन रोचक हुने देखिएको छ।

दार्चुला निर्वाचन