

धनगढी । यज्ञराज ढुङ्गाना ले निर्वाचित भएपछिका दिनमा नियमित रूपमा जनतामाझ फर्किने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार ढुङ्गानाले हरेक तीन महिनामा क्षेत्र केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा जनगुनासो सुन्दै उनले विगतमा निर्वाचित भएपछि जनतासँग सम्पर्क टुटाउने प्रवृत्ति अन्त्य गर्ने दाबी गरे। “जितेर गएका केही जनप्रतिनिधि फेरि जनताका घरदैलोमा नफर्किएको गुनासो जायज छ,” उनले भने, “म त्यस्तो परिपाटी तोड्नेछु। जनताका माग सम्बोधन गर्न सम्बन्धित निकाय धाउनेछु र संसद् सञ्चालनका बेला मात्र काठमाडौँ रहनेछु।”
ढुङ्गानाले आफूले गरेका काम, गर्न नसकेका काम र आगामी योजनाबारे प्रत्यक्ष रूपमा जनतालाई जानकारी गराउने बताए। साथै, नयाँ समस्या र सुझाव संकलन गर्न नियमित भेटघाट कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ। उनका अनुसार जनप्रतिनिधि र नागरिकबीच निरन्तर संवाद भए मात्रै विकास र सुशासन सम्भव हुन्छ।
उनले संसद् सञ्चालन अवधिबाहेक अधिकांश समय निर्वाचन क्षेत्रमै सक्रिय रहने प्रतिबद्धता दोहोर्याए। “जनताको समस्या समाधानका लागि मन्त्रालय, विभाग र सम्बन्धित निकायमा पहल गर्नेछु, तर जनताबाट टाढा हुने छैन,” उनले भने।
पछिल्लो समय केही सांसदहरू विभिन्न विवादमा मुछिएको सन्दर्भ उल्लेख गर्दै ढुङ्गानाले आफू पारदर्शिता र जवाफदेहितामा प्रतिबद्ध रहने दाबी गरे। “राजनीतिमा सेवा गर्न आएको हुँ, निजी स्वार्थ पूरा गर्न होइन,” उनले भने, “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”
निर्वाचन यज्ञराज ढुंगाना



