Logo
२६ फागुन २०८२, मंगलबार

खुश्बुको अपिल : ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई’

अक्षरपाटी
२०८२ फागुन ९ , शनिबार ०१:०२ मा प्रकाशित

काठमाडौं। देश चुनावी महासंग्राममा छ। गाउँबस्तीदेखि सहरका गल्लीगल्ली राजनीतिक दलका झन्डा र ब्यानरले रङ्गिएका छन्।

उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्, मतदाता रिझाउन तल्लीन छन्। यही चुनावी भीडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक उम्मेदवार खुश्बु ओलीको दौडाहा र सक्रियता छुट्टै छ।

निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशन गरेको अन्तिम बन्दसूची अनुसार खस आर्य महिला क्लस्टरको एक नम्बरमा रहेकी खुश्बु, अहिले राप्रपाको ‘स्टार प्रचारक’ का रूपमा उदाएकी छन्।

राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा खुश्बु मात्र होइनन्, समावेशी समूहअनुसार आदिवासी जनजातितर्फ धादिङकी सरस्वती लामा र स्याङ्जाका तोरण बहादुर गुरुङ, खस आर्य पुरुषतर्फ महोत्तरीका भरत गिरी, दलिततर्फ सुनसरीकी सिता कुमारी राम र धादिङका अमर परियार, थारुतर्फ दाङकी जानकी चौधरी र बाराका श्याम सुन्दर चौधरी, मधेसीतर्फ रुपन्देहीकी उषा पाठक र मोरङका प्रल्हाद प्रसाद साह तथा मुस्लिम क्लस्टरमा सुनसरीकी नाजिय खातुन मिया र रुपन्देहीका ताहिर अली भाटजस्ता सशक्त उम्मेदवारहरू पहिलो नम्बरमा सूचीकृत छन्।

यद्यपि, यी सबै उम्मेदवारहरूको बीचमा खुश्बु ओलीको प्रचार शैली र देश दौडाहाले पार्टीको पक्षमा छुट्टै जनलहर सिर्जना गरेको छ। समानुपातिक उम्मेदवार भए पनि उनको सक्रियता कुनै प्रत्यक्ष उम्मेदवारको भन्दा कम छैन।

अहिले उनी पार्टीको अभियानलाई अगाडि बढाउने फरक र परिपक्व शैलीका कारण व्यापक प्रशंसा बटुल्दै छिन्। कहिले पूर्वी नेपालका फाँटहरू, कहिले तराई–मधेशका गल्लीहरू त कहिले मध्यपहाडी लोकमार्गका उकाली–ओरालीहरूमा उनी अनवरत खटिएकी छन्।

केहीअघि राजधानीबाट पश्चिमको यात्रा तय गर्दै उनी तनहुँ, पर्वत, म्याग्दी, बागलुङ हुँदै लुम्बिनी प्रदेशको रुकुम पूर्व र कर्णाली प्रदेशको रुकुम पश्चिमसम्म पुगिन्। त्यसअघि मधेसका जिल्लामा पनि उनी पुगिन्। जहाँ–जहाँ खुश्बु पुगिन्, त्यहाँ–त्यहाँ राप्रपाको चुनावी नारा ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई’ गुञ्जायमान हुने गरेको छ।

गोरखा दरबारको प्राङ्गणमा उभिएर उनले दिएको अभिव्यक्तिले धेरैको मन छोएको थियो। उनले इतिहासको स्मरण गर्दै भनिन्, ‘तपाईंहरूले देखिरहनुभएको यो दरबार सामान्य संरचना होइन। यो गोरखा दरबार हो, जहाँ गोरखकालीको शक्ति र राष्ट्रिय चेतना बस्छ। म अहिले पुकार गरिरहेको यो डाँडो कुनै साधारण थलो होइन, यो बज्रभैरवको स्थान हो जहाँ पृथ्वीनारायण शाहले नेपालको एकीकरणतर्फ अघि बढ्नु अघि शस्त्र होइन, श्रद्धा र आस्था लिएर आराधना गरेका थिए।’

यही माटोबाट राष्ट्र निर्माणको संकल्प जन्मिएको भन्दै उनको यो उद्घोषले राप्रपाको एजेन्डा केवल सत्ता परिवर्तनको औपचारिकता नभई धर्म, संस्कृति, सभ्यता र स्वाभिमान जोगाउने महाअभियान हो भन्ने सन्देश प्रवाह गरेको उनको भनाइ थियो।

सार्वजनिक कार्यक्रमहरूमा ओलीले राष्ट्रिय तथा स्थानीय मुद्दाहरूलाई स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत गर्ने गरेकी छन्। उनको शान्त, आत्मविश्वासी उपस्थिति र व्यक्तित्वबीचको स्थिरताले विभिन्न समुदायका मतदातासँग सहजै सम्बन्ध जोड्न सहयोग गरेको छ।

नारा भन्दा मुद्दा, हतार भन्दा विवेक र प्रदर्शन भन्दा सेवाभावमा आधारित उनको अभियान शैलीले प्रदेशीय सीमालाई चिरेर राष्ट्रिय स्तरमा व्यापक विश्वास र लोकप्रियता बटुलिरहेको छ।

खुश्बु स्पष्ट रूपमा भन्छिन्, ‘यसपटकको चुनाव कुनै व्यक्ति जिताउनका लागि होइन, देश बचाउनका लागि हो। यो मत डर, लोभ वा विदेशी एजेन्डाबाट होइन, आफ्नै माटो, आफ्नै इतिहास र आफ्नै भविष्यप्रतिको जिम्मेवारीबाट खसालिनेछ।’

मैदानमा मात्र होइन, सामाजिक सञ्जालमा समेत बढ्दो उनको लोकप्रियताले राप्रपाका प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूका लागि थप सकारात्मक वातावरण सिर्जना गरिरहेको छ।

खुश्बु ओली राष्ट्रिय प्रजातन्त्र पार्टी