

काठमाडाैँ। काँग्रेस काठमाडौँ ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सचिन तिमिल्सिनाले आफ्नो ५ वर्षे कार्यकालका लागि ‘१० नतिजाको मार्गचित्र सार्वजनिक गरेका छन्।
आज मैतीदेवी मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रममा मार्गचित्र सार्वजनिक गर्दै उनले राजनीति भनेको नागरिकको क्षमता विस्तार गर्ने र समान अवसरको पहुँच सुनिश्चित गर्ने माध्यम भएका बताएका छन्। कामनपा र बुढानीलकण्ठका वडाहरूलाई भिन्नभिन्नरूपमा सम्बोधन गर्दै तयार पारिएको प्रतिज्ञापत्रमा १०-१० बुँदामा सम्बोधन गरिएको छ।
सुशासन र भ्रष्टाचार नियन्त्रणको संकल्प
सचिनको पहिलो प्राथमिकता राज्यका संयन्त्र र नागरिकबीच शक्ति सन्तुलन कायम गर्नु रहेकाे छ। उनले अनावश्यक तजबिजी अधिकार कटौती गर्ने कानुन निर्माण गर्ने र सरकारी सेवालाई ‘डिजिटल र फेसलेस’ बनाउने प्रतिज्ञा गरेका छन् । उनले प्रत्येक वर्ष आफ्नो कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरी जवाफदेहिताको सुरुवात आफैंबाट गर्ने बताए।
पूर्वाधार र ट्राफिक व्यवस्थापन
काठमाडौंको ट्राफिक र सडक समस्या हल गर्न उनले ‘पूर्वाधार समन्वय ऐन’ को पैरवी गर्ने लक्ष्य राखेका छन्। विशेष गरी बुढानीलकण्ठ र कपन क्षेत्रको डुबान समस्या समाधानका लागि एकीकृत पूर्वाधार योजनामार्फत ५ वर्षभित्रै ठोस नतिजा निकाल्ने उनको योजनामा समेटिएकाे छ।
शिक्षा र स्वास्थ्यमा सुधार
उनले स्वास्थ्यलाई ‘बीमामा आधारित एकीकृत स्वास्थ्य प्रणाली’ मार्फत औषधि र उपचारमा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिज्ञा गरेका छन् । विद्यालयहरूमा ‘स्कूल हेल्थ एम्बेस्डर’ कार्यक्रम र बालबालिकाको मानसिक स्वास्थ्यका लागि विशेष पहल गरिने उनको घोषणापत्रमा उल्लेख छ।
डिजिटल क्रान्ति र युवा स्टार्टअप
नेपाललाई ‘डिजिटल नोम्याड’ गन्तव्यका रूपमा विकास गर्ने र पुराना कानुनहरू खारेज गरी नयाँ साइबर सुरक्षा तथा ई-कमर्स ऐन ल्याउने उनको सोच छ। उद्यमीहरूलाई प्रक्रियागत झन्झटबाट मुक्त गर्न ‘रेगुलेटरी स्यान्डबक्स’को कानुनी व्यवस्था गर्ने उनको योजना छ।
सामाजिक न्याय र समावेशीता
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता, अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक प्रतिनिधित्व र ‘पिंक ट्याक्स’ जस्ता विभेदकारी कर प्रणालीको अन्त्य उनका प्रमुख नीतिगत प्राथमिकता छन्।
नागरिकसँग प्रत्यक्ष संवाद
निर्वाचन जितेपछि हराउने परम्पराको अन्त्य गर्दै उनले काठमाडौं क्षेत्र नं ४ मा आधुनिक र प्रविधिमैत्री ‘सांसदको कार्यालय’ स्थापना गर्ने प्रतिज्ञा गरेका छन्। यस कार्यालयमार्फत हरेक ६ महिनामा आफ्नो कामको हिसाब बुझाउने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उनको प्रतिबद्धता छ।
उपत्यकाका लागि साझा दृष्टि
काठमाडौं उपत्यकालाई एउटै भौगोलिक र सांस्कृतिक एकाइका रूपमा विकास गर्न उनले ‘उपत्यका रणनीतिक प्राधिकरण’को पुनःसंरचना, साझा यातायात सञ्जाल र प्रदूषणमुक्त ‘ग्रेटर हेरिटेज सर्किट’ निर्माणको प्रस्ताव अघि सारेका छन्।
निर्वाचन नेपाली कांग्रेस सचिन तिमिल्सिना



