Logo
२६ फागुन २०८२, मंगलबार

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सबैको मृत्यु

अक्षरपाटी
२०८२ फागुन १२ , मंगलबार ०९:०२ मा प्रकाशित

भारतको झारखण्ड राज्यमा बिरामी बोकेर दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटना हुँदा सातै जनाको मृत्यु भएको छ।

सोमबार बेलुकी राँची बाट उडेको विमान चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको हो। दिल्लीस्थित रेडबर्ड एयरवेज द्वारा सञ्चालित बीचक्राफ्ट सी–९० विमानमा एक बिरामीसहित सात जना सवार थिए।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा सबैको ज्यान गएको हो। मृतकमध्ये ४१ वर्षीय सञ्जय कुमार, उनका सहयोगी विकास गुप्ता, चिकित्सक सचिन कुमार मिश्र, सहयोगी अर्चना देवी र धुरु कुमार तथा क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंह रहेका छन्।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७:११ बजे बिरसा मुण्डा विमानस्थल बाट उडेको थियो। खराब मौसमका कारण मार्ग परिवर्तनको अनुरोध गरिए पनि केहीबेरमै रडार र सञ्चार सम्पर्क विच्छेद भएको जनाइएको छ।

प्रारम्भिक अनुमानमा खराब मौसम दुर्घटनाको सम्भावित कारण मानिए पनि वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने अधिकारीहरूले बताएका छन्। घटनाको छानबिन प्रक्रिया अघि बढाइएको छ।

एयर एम्बुलेन्स दुर्घटना भारत