

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आजबाट ४१औँ वर्षमा प्रवेश गरेको छ।
चार दशक लामो यात्रामा बैंकले सेवाग्राही, सेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा सम्पूर्ण कर्मचारीको निरन्तर विश्वास र सहयोग प्राप्त गर्दै वित्तीय क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण पक्षमा हार्दिक आभार व्यक्त गरेको छ।
४०औँ वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बैंकको आजसम्मको यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहकलाई अझ सरल, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्ने दिशामा बैंक अग्रसर रहने बताए।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै नवीनतम बैंकिङ सेवा विस्तार गर्ने जनाएको छ।
वित्तीय साक्षरतामा निरन्तर पहल
बैंकले वार्षिकोत्सवको अवसर पारेर विगत आठ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्रपुस्तक प्रकाशन गर्दै आएको छ। यस वर्ष ४०औँ वार्षिकोत्सवमा ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा सार्वजनिक गरिएको छ।
उक्त पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयलाई सरल, रमाइलो र ज्ञानवर्द्धक शैलीमा प्रस्तुत गरिएको बैंकले जनाएको छ।
वातावरणमा भइरहेको तीव्र परिवर्तनले मानव स्वास्थ्य, भविष्य र सुन्दर पृथ्वीलाई चुनौती दिइरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकालाई सचेत बनाउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो।
रक्तदान कार्यक्रम
वार्षिकोत्सवका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
हाल बैंकले देशभर २६१ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक



