

काठमाडौं । आयतोल्लाह अली खामेनीको निधन भएको इरानको राज्य टेलिभिजनले आधिकारिक रूपमा पुष्टि गरेको छ । उनको सम्मानमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको छ भने सात दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको बताइएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत खामेनी मारिएको दाबी गरेका थिए । तर उक्त दाबीको इरानबाट तत्काल पुष्टि भएको थिएन । इरानका विदेशमन्त्री अब्बास अराघचीले समेत एक अन्तरवार्तामा खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए ।
तर पछि इरानको सरकारी टेलिभिजनका प्रस्तोताले भावुक हुँदै खामेनीको निधन भएको घोषणा गरेका हुन् । फार्स न्युज एजेन्सी र तस्निम न्युज एजेन्सीले पनि शनिबार बिहान आफ्नै कार्यकक्षमा जिम्मेवारी सम्हालिरहेकै अवस्थामा उनको मृत्यु भएको जनाएका छन् ।
को हुन् खामेनी ?
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको निधनपछि उत्तराधिकारीका रूपमा नेतृत्व सम्हालेका हुन् । खोमेनीले सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गर्दै शाह मोहम्मद रेजा पहलवीको शासन अन्त्य गरेका थिए ।
सर्वोच्च नेताको हैसियतमा खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहँदै आएको थियो । उनी देशका सर्वोच्च आध्यात्मिक नेतासमेत थिए ।
उनको कार्यकालमा इरानले पश्चिमा मुलुकहरूसँग तनावपूर्ण सम्बन्ध, कडा आर्थिक प्रतिबन्ध तथा आन्तरिक विरोध प्रदर्शनको सामना गरेको थियो । उनले संयुक्त राज्य अमेरिकालाई इरानको प्रमुख शत्रुका रूपमा व्याख्या गर्दै आएका थिए भने इजरायलप्रति पनि कडा अडान राख्दै आएका थिए ।
इरानका प्रमुख सुरक्षा संयन्त्रहरू इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र बासिज अर्धसैनिक बल उनको शक्तिको आधार मानिन्थे ।
आणविक कार्यक्रमबारे खामेनीले इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएका थिए । यद्यपि अमेरिका र इजरायलले भने इरानमाथि निरन्तर दबाब दिँदै आएका थिए ।
अमेरिका र इजरायलसँग बढ्दो तनाव
पछिल्ला वर्षहरूमा इरान र इजरायलबीच तनाव चर्किएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खामेनीलाई लक्षित कारबाहीको संकेत दिएका थिए भने इजरायली रक्षा मन्त्रीले उनलाई ‘आधुनिक हिटलर’को संज्ञा दिएका थिए ।
पछिल्लो समय भएका आक्रमणहरूमा इरानी नेतृत्वलाई समेत निशाना बनाइएको स्वीकारोक्ति सार्वजनिक भएपछि क्षेत्रीय तनाव थप गहिरिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानी नागरिकलाई सम्बोधन गर्दै आफ्नै शासन आफैं सम्हाल्न आह्वान गरेका थिए, जसलाई इरानमा सत्ता परिवर्तनको संकेतका रूपमा हेरिएको थियो ।
खामेनीको निधनसँगै इरानको राजनीतिक भविष्य, क्षेत्रीय शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धमा महत्वपूर्ण प्रभाव पर्ने आकलन गरिएको छ ।
इरान



