

काठमाडौं। सरकारले खाडी क्षेत्रका देश तथा इजरायलका लागि वैदेशिक रोजगारीमा जाने कामदारलाई अस्थायी रूपमा श्रम स्वीकृति दिन रोक लगाएको छ। वैदेशिक रोजगार विभाग का प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार पछिल्लो क्षेत्रीय तनाव र उडान अवरुद्ध भएपछि यस्तो निर्णय गरिएको हो।
खाडी क्षेत्रका संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब, ओमान, कुवेत, बहराइन लगायतका देशमा बढ्दो सुरक्षा चुनौतीका कारण विमानस्थलहरू बन्द भएका छन्। साथै इजरायल मा समेत अवस्था अस्थिर रहेकाले त्यहाँ जाने श्रमिकलाई पनि श्रम स्वीकृति रोकिएको छ।
विभागका अनुसार श्रम स्वीकृतिको टोकन लिइसकेकाहरूलाई समेत हाललाई पर्खन आग्रह गरिएको छ। सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले ट्राभल एड्भाइजरी जारी गरिसकेका छन् भने नेपालबाट हुने उडानहरू रद्द भएका छन्।
सरकारले अवस्था सामान्य भई उडान पुनः सञ्चालन हुनासाथ आवश्यकताअनुसार श्रम स्वीकृति पुनः खुला गर्ने जनाएको छ। यस निर्णयले वैदेशिक रोजगारीको तयारीमा रहेका हजारौं युवायुवती अन्योलमा परेका छन्।
श्रम स्वीकृति



