

सर्लाही । देशभर चुनावी माहोल तातेका बेला सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा झनै चर्किएको छ। यस क्षेत्रमा उम्मेदवारहरूको व्यक्तिगत छवि, राजनीतिक विगत, तथा स्थानीय स्तरमा उनीहरूको भूमिका मतदाताको मुख्य मूल्यांकनको आधार बनेको छ।
यसै क्रममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रमोद साहको उम्मेदवारी चर्चासँगै विवादको केन्द्रमा पनि देखिएको छ। उनी आफ्नो राजनीतिक यात्राभर विभिन्न आन्दोलन, विवाद र जातीय मुद्दासँग जोडिँदै आएका कारण यस क्षेत्रमा उनको नाम समर्थक र आलोचक दुवैका बीच चर्चामा रहने गरेको छ।
साहले आफ्नो राजनीतिक यात्रा तत्कालीन सद्भावना पार्टीबाट शुरू गरेका थिए । उनी मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) बाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–१ बाट विजयी भएका थिए ।
त्यतिबेला मधेस आन्दोलनको प्रभाव, जातीय समीकरण तथा स्थानीय राजनीतिक परिस्थितिले उनको विजयमा महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिन्छ।
तर, उनको राजनीतिक शैलीलाई लिएर स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया पाइन्छ। केही स्थानीयले उनलाई अधिकारका लागि आवाज उठाउने नेताको रूपमा समर्थन गर्ने गरेका छन् भने अन्यले विभिन्न घटनामा आन्दोलन भड्काउने र स्थानीयलाई उचाल्ने गरेको आरोप लगाउने गरेका छन् ।
२०७६ असार १५ गते ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा ११ वर्षीय बालक अमित रायको बाँके खोलामा अवैध उत्खननका कारण बनेको खाडलमा डुबेर मृत्यु भएपछि भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सोही ठाउँका २७ वर्षीय सरोजनारायण सिंह (देवन) को मृत्यु भएको थियो ।
उक्त घटनापछि भएको आन्दोलनमा साहको भूमिका विवादित बनेको थियो। स्थानीयको एक पक्षले आन्दोलन भड्काउन भूमिका खेलेको आरोप लगाएका थिए भने उनका समर्थकहरूले भने उनले पीडितको पक्षमा आवाज उठाएको बताएका छन् ।
त्यसैगरी २०७८ पुस १२ गते ईश्वरपुर नगरपालिकामा प्रहरी भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि भएको आन्दोलनमा पनि तनाव उत्पन्न भएको थियो। आन्दोलनका क्रममा ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो।
उक्त घटनामा पनि साहमाथि आन्दोलन उचाल्ने आरोप लागेको थियो, यद्यपि उनले त्यसलाई अस्वीकार गर्दै आफूले पीडितको न्यायका लागि आवाज उठाएको बताएका थिए।
स्थानीय स्रोतका अनुसार, पछिल्ला वर्षहरूमा सर्लाही–१ क्षेत्रमा भएका विभिन्न आन्दोलन र झडपमा साहको नाम जोडिँदै आएको छ। आन्दोलनका क्रममा उनी आफैँ पनि पटक–पटक घाइते भएका घटनाहरू सार्वजनिक भएका छन् । साथै, विभिन्न घटनामा उनको निवेदनका आधारमा करिब २८ जनाविरुद्ध मुद्दा दर्ता भएको बताइन्छ।
यद्यपि उनका समर्थकहरूले भने उनलाई अन्यायविरुद्ध आवाज उठाउने र मधेस तथा स्थानीय समुदायको अधिकारका लागि संघर्ष गर्ने नेताको रूपमा चित्रण गर्ने गरेका छन् ।
आगामी निर्वाचनमा प्रमोद साहको विगतको राजनीतिक भूमिका, विवाद तथा जनसम्पर्कले उनको जित वा हारमा कस्तो प्रभाव पार्ने भन्ने विषय अहिले सर्लाही–१ का मतदाताबीच मुख्य चासोको विषय बनेको छ।
निर्वाचन



