Logo
२१ फागुन २०८२, बिहीबार

निष्ठाको चार दशकले भक्तपुर २ मा कबिर राणा उदयोन्मुख

अक्षरपाटी
२०८२ फागुन १८ , सोमबार १०:०३ मा प्रकाशित

भक्तपुर । भक्तपुरको राजनीतिमा कबिर राणा एउटा यस्तो नाम हो जो सत्ताको रापतापमा होइन संघर्षको भट्टीमा खारिएर आएको छ । ०३७ सालमा आदर्श माध्यमिक विद्यालयबाट नेविसंघको झण्डा बोकेर शुरू भएको उनको यात्रा आज भक्तपुर क्षेत्र नं.२ को साझा आशाको केन्द्र बनेको छ ।

यो यात्रा केवल समयको अन्तरालमात्र होइन, पञ्चायतकालीन अन्धकार विरुद्धको विद्रोह र लोकतन्त्रका लागि गरिएको अविचलित तपस्या हो । ०४२ सालको सत्याग्रहमा ६ महिनाको कठोर जेल जीवन भोग्दा पनि नडगमगाएको उनको लोकतन्त्रप्रतिको आस्थाले नै उनलाई आज एक परिपक्व र निष्ठावान् नेताका रूपमा उभ्याएको छ।

राणाको व्यक्तित्व बहुआयामिक छ। एकातिर उनी बालकोटको बुथ सभापतिदेखि जिल्ला विकास समितिको निर्वाचित सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग र महासमिति सदस्यसम्मको सांगठनिक अनुभव बोकेका नेता हुन् भने अर्कोतिर उनी कानून र वाणिज्यका प्रखर ज्ञाता पनि हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका राणाले पत्रकारितालाई समाजको ऐना मात्र बनाएनन्,’देशान्तर साप्ताहिक’ को प्रधानसम्पादकका रूपमा दशकौँसम्म सत्तालाई प्रश्न गरिरहे र जनतालाई सुसूचित गरिरहे । रासस र नेपाल टेलिभिजन जस्ता राज्यका मुख्य सञ्चार माध्यमको बोर्ड सदस्य भएर उनले आफ्नो प्रशासनिक र नीतिगत कुशलताको छाप छोडिसकेका छन् ।

विश्वका दुई दर्जनभन्दा बढी विकसित मुलुकहरूको भ्रमण गरिसकेका राणासँग भक्तपुरलाई आधुनिक तर मौलिक सहर बनाउने स्पष्ट ‘भिजन’ छ । उनी सूर्यविनायक र मध्यपुर थिमी क्षेत्रका भित्री सडकको धुलो र ढलको समस्यालाई चुनावी नारामा मात्र सीमित राख्न चाहँदैनन्; बरु यहाँको ऐतिहासिक कला र संस्कृतिलाई विश्व पर्यटन बजारसँग जोडेर प्रत्येक घरको आर्थिक उन्नति गर्ने खाका बुन्छन् । सरकारी विद्यालयको स्तर उन्नति, सुलभ स्वास्थ्य सेवा र सूचना प्रविधिमार्फत स्थानीय युवालाई स्वदेशमै उद्यमी बनाउने उनको संकल्पले नै उनलाई ‘भुँइमान्छेका प्रतिनिधि’ सावित गर्दछ ।

कबिर राणा केवल एउटा राजनीतिक उम्मेदवारमात्र होइनन् उनी भक्तपुरको समृद्धिको सपना बोकेका एक भरोसायोग्य सारथी हुन् । राजनीतिलाई सेवा र पत्रकारितालाई मिशन मान्ने राणाको उपस्थिति संसदमा हुनु भनेको भक्तपुरको आवाज बुलन्द हुनु र विकासले नयाँ गति लिनु हो ।

स्थानीय मतदाताको सुख-दुःखमा सधैँ साथै रहेका राणा अब भक्तपुरको माग र आवश्यकतालाई नीतिगत तहमै सम्बोधन गर्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा छन् ।

कबिर राणा निर्वाचन नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )