

काठमाडौं। नेपाल आयल निगमले आधिकारिक रुपमा काठमाडाैँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव स्वीकार्दैन। तर बजारमा वास्तविक उपभाेक्ताहरुले सहजै ग्यास पाउन छाेडेका छन्। तीन सातादेखिको यो अवस्था सहज बनाउन निगमले अझै सकेको छैन।
त्यसरी ग्यास नपाउनेहरुले निगममै सम्पर्क राख्न थालेपछि निगमले त्रिपुरेश्वरस्थित कार्यालयबाट आफै पनि थोरै मात्रामा ग्यास वितरण गर्ने गरेको छ।
केही साताघि ‘ग्यासको अभाव हुने’ हल्लाका कारण बजारमा सहजै ग्यास पाउन छाेडेको हाे। कतिपय उपभाेक्ता ग्यासका डिलरमै पुगेर ग्यास लिन वाध्य छन्।
यसो हुनुकाे कारण हल्ला नै भएको निगमकै एक अधिकारीले बताए। उनले भने, ‘राजधानीमा एक लाख हुनेखाने उपभाेक्ता छन्, हल्लाका कारण उनीहरुले अनावश्यक शिलिण्डर थुपारेर राखे, बजारमा सिलिण्डरको रोटेसन नै खलबलियो।’
‘हल्ला’लाई निगमले मत्थर गर्न नसकेकै कारण आज राजधानीका उपभाेक्ताले ग्यासको अभाव महसुस गरिरहेका छन्।
यस्तै मनाेवैज्ञानिक त्रास पेट्रोल र डिजेल पनि पाइँदैन कि भन्नेमा परेको छ। साेही डरले काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ।
इरान र इजरायलबीच भइरहेको युद्धको असर पेट्रोल, डिजेल आपूर्तिमा पर्ने हो कि भन्ने त्रासले पेट्रोलियम पदार्थको माग बढेको अधिकारीहरु नै स्वीकार्छन्।
तर यसमा निगमले आधिकारिक रुपमा के हुन्छ भन्ने तथ्य आम उपभाेक्तामा स्पस्ट पार्न नसक्नुको मार निगम आफैलाई पर्न थालेको हो।
नेपाल आयल निगम बागमति प्रादेशिक कार्यालय थानकोटका अनुसार सोमबार पेट्रोलको बिक्री १३ सय १८ किलोलिटर (१३ लाख ८० हजार लिटर) रहेको छ।
त्यस्तै सोमबार थानकोटबाट डिजेल बिक्री ४ सय ६८ किलोलिटर (४ लाख ८६ हजार लिटर) भएको थानकोट प्रादेशिक कार्यालयले जनाएको छ। यो नियमित बिक्रीको तुलनामा करिब दोब्बर हो।
फागुन १ गतेदेखि सोमबारसम्मको दैनिक औसत बिक्री पेट्रोलको ७ सय ७५ किलोलिटर र डिजेलको औसत दैनिक ७ सय ४० किलोलिटर छ।
यसरीको माग बढ्नुको कारण उपभोक्तामा परेको मनोवैज्ञानिक त्रास नै रहेको आयल निगमका प्रवक्ता मनोज ठाकुरको पनि भनाइ छ।
‘नपाउने भन्ने मनोवैज्ञानिक त्रासका कारण नै माग बढेको हो भन्छु,’ उनले मिडियालाई भनेका छन्, ‘युद्धको असरले नपाउने भन्ने वा बिदाका दिनमा पम्प बन्द हुने मनस्थितिले पनि बढी मात्रामा तेल भर्न खोज्दा माग बढेको हुनसक्छ।’
युद्धको असर पर्छ?
गत शनिबार इरानमा इजरायल र अमेरिकाले आक्रमण गरेपछि खाडी मुलुकहरुमा युद्धको अवस्था सिर्जना भएको छ। खाडीका कतिपय तेल प्रशोधन केन्द्रहरुमा पनि इरानले आक्रमण गरेका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा प्रकाशित भएका छन्।
तेल प्रशोधन केन्द्रहरुमा गरेको आक्रमणका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा असर पर्ने कतिपयको बुझाइका कारण पेट्रोल तथा डिजेलको माग बढेको आकलन गरिएको छ।
यद्यपि निगम प्रवक्ता ठाकुरले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा हाल कुनै असर नपर्ने बताएका छन्।
साथै निगमले इण्डियन आयल कर्पोरेशन (ओईओसी)बाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएकाले आईओसीले आपूर्तिमा असहजता नआउने बताएको प्रवक्ता ठाकुरको भनाइ छ।
आयल निगम उपभोक्ता पेट्रोलियम



