

काठमाडौं । गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका सबै ७७ जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार बिहान मन्त्रालयमा आयोजित भर्चुअल बैठकमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग निर्वाचनको सुरक्षा तथा व्यवस्थापकीय अवस्थाबारे समीक्षा गरिएको हो। बैठक राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
करिब तीन घण्टा चलेको छलफलमा जिल्लागत निर्वाचन तयारी, सुरक्षा अवस्था, मतदानका दिन अपनाउनुपर्ने सतर्कता तथा केन्द्र–जिल्ला समन्वयका विषयमा केन्द्रित भएर समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार सबै प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लामा निर्वाचनको तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराएका छन्। सुरक्षा निकाय, कर्मचारी तथा निर्वाचन सामग्री मतदान स्थलमा पुगिसकेको समेत बैठकमा जानकारी दिइएको थियो।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन दिएका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्र र जिल्लाबीच निरन्तर समन्वय गर्ने समझदारीसमेत बैठकले गरेको छ।
गृह मन्त्रालय निर्वाचन आयोग



