Logo
९ वैशाख २०८३, बुधबार

देशभर मतदान सुरु, शीर्ष नेताहरूले गरे मताधिकार प्रयोग

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज बिहान ७ बजेदेखि देशभर एकैसाथ मतदान सुरु भएको छ । निर्वाचन आयोगले बिहानैदेखि देशव्यापी रूपमा शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया सुरु भएको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै मतदान केन्द्रमा निर्वाध रूपमा मतदान भइरहेको छ । मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । आयोगले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी तथा लालपूर्जा देखाएर मतदान गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ३ हजार ६८० केन्द्र अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । साथै १४३ अस्थायी मतदानस्थल पनि तय गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ । निर्वाचनमा करिब २ लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।

शीर्ष नेताहरूले गरे मतदान

यसैबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आ–आफ्नो क्षेत्रमा पुगेर मतदान गरेका छन् ।

कुलमान घिसिङले काठमाडौं–३ अन्तर्गत बौद्ध, महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयबाट मतदान गरे । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताले विश्वास गरेर आफ्नो पार्टी विजयी हुने दाबी गरे । केही स्थानमा पैसा बाँडिएको भन्ने सूचना सुनेको उल्लेख गर्दै उनले समग्र अवस्था भने शान्तिपूर्ण रहेको बताए । घिसिङ यसपटक आफ्नै नेतृत्वमा स्थापना गरेको उज्यालो नेपाल पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

त्यस्तै, पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरबाट मतदान गरे । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक हुन् । सोही क्षेत्रबाट उनकी छोरी रेनु दाहाल उम्मेदवार रहेकी छन् । प्रचण्ड भने यसपटक रुकुम पूर्वबाट उम्मेदवार भएकाले उनले आफूलाई मतदान गर्न पाएनन् ।

रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित महांकाल चौर मतदानस्थलबाट मतदान गरे । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । चितवन–२ बाट प्रतिस्पर्धामा रहेकाले उनले पनि आफूलाई मतदान गर्न पाएनन् । मतपत्र खसाली सकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत देशभर शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको छ ।

प्रतिनिधिसभा निर्वाचन