



काठमाडौं। साेमबारदेखि पेट्राेलियमको भाउ अकाशिएको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो।
साोमबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।
यसका साथै पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५ पैसादेखि १७२ रुपैयाँसम्म प्रतिलिटर पुगेको छ। त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसादेखि १५२ रुपैयाँ कायम भएको छ। उक्त फरकफरक मूल्य ढुवानी ठाउँअनुसार तोकिँदै आएको छ।
इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट आइतबार आएको मूल्यसूचीअनुसार इन्धनको मूल्य निकै बढेकाले सोहीअनुसार निगमले समायोजन गरिएको निगमले जानकारी दिएको छ।
निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँ बढाएर पठाएको छ। अन्य खाना पकाउने ग्यास, हवाई इन्धनको मूल्य भने निगमले यथावत् राखेको जानकारी दिएको छ।
पछिल्लो समय गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरानले आफ्नो क्षेत्रबाट हुने तेल आपूर्तिमा अवरोध गरेको छ। जसका कारण विश्वभर इन्धन संकट चुलिएको र विश्व बजारमा इन्धनको मूल्य वृद्धि भएको छ।





