Logo
९ वैशाख २०८३, बुधबार

ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

अक्षरपाटी
२०८२ चैत्र २ , सोमबार ०९:०३ मा प्रकाशित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल नजिकै भएको ड्रोन आक्रमणपछि यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उडानहरू केही समयका लागि स्थगित गरिएको अधिकारीहरूले बताएका छन्।

सोमबार भएको उक्त आक्रमणका कारण विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको बताइएको छ। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ। घटनापछि विमानस्थल आसपासको क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको जनाइएको छ।

पछिल्लो समय खाडी क्षेत्रमा बढ्दो क्षेत्रीय तनावका कारण सुरक्षा जोखिम पनि बढ्दै गएको छ। विशेषगरी अमेरिका, इजरायल र इरानबीच सुरु भएको युद्धपछि मिसाइल तथा ड्रोन आक्रमणका घटनाहरू तीव्र भएका छन्।

सन् २०२५ मा दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए, जसका कारण यो विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई अड्डामध्ये एक मानिन्छ।

फेब्रुअरी २८ पछि खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमणका घटनाहरू उल्लेख्य रूपमा बढेका छन्। अहिलेसम्म खाडीका विभिन्न अरब देशहरूले दुई हजारभन्दा बढी यस्ता आक्रमणको सामना गरिसकेको बताइएको छ। ती आक्रमणका लक्ष्यहरूमा कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय तथा कार्यालय भवनहरू समेत परेका छन्।

सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको संयुक्त अरब इमिरेट्समा यस्ता आक्रमणको प्रभाव तुलनात्मक रूपमा बढी परेको बताइए पनि खाडी क्षेत्रका अन्य देशहरू पनि यसबाट प्रभावित भएका छन्। साथै ती देशहरूले इरानप्रति आलोचना गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार ड्रोन आक्रमण