



धनगढी। कैलालीको खक्रौला नाकामा भारतबाट ल्याइएको सामान बरामद गर्ने विषयमा उत्पन्न विवाद चर्किँदा सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। घटनाकै क्रममा बीओपीमै डीएसपीमाथि हातपात भएको भिडियो सार्वजनिक भएपछि प्रकरण थप गम्भीर बनेको छ।
मंगलबार साँझ टीकापुरस्थित एसजीए ट्रेड एण्ड सप्लायर्सले जीएसटी बिलसहित ल्याएको सामान सशस्त्र प्रहरीले अवैध भन्दै बरामद गरेपछि विवाद सुरु भएको थियो। व्यवसायी पक्षले विरोध जनाएपछि सो सामान फिर्ता गरिएको छ।
टीकापुर उद्योग वाणिज्य संघले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बिलबिजक भएकै सामानसमेत अवैध भन्दै अनावश्यक दुःख दिने गरेको आरोप लगाएको छ। संघका पदाधिकारीका अनुसार सोही विषयमा ध्यानाकर्षण गराउन पुगेका व्यवसायी र प्रहरीबीच विवाद चर्किएको थियो।
बुधबार बीओपी पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरी बलले छानबिन अघि बढाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले एसपी अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
यसैबीच, बीओपी खक्रौलामा कार्यरत डीएसपीबाहेक अन्य ३३ जना सशस्त्र प्रहरीलाई धनगढीस्थित गणमा तान्ने निर्देशन दिइए पनि कार्यान्वयन भने भएको छैन। गण प्रमुख एसपी खुमबहादुर केसीले छानबिनपछि मात्र आवश्यक निर्णय लिइने बताएका छन्।
स्रोतका अनुसार डीएसपीबारे अन्तिम निर्णय सशस्त्र प्रहरी मुख्यालयबाट हुनेछ भने अन्य कर्मचारीमाथि छानबिनपछि कारबाही प्रक्रिया अघि बढाइनेछ।
कैलाली सामान बरामद



