Logo
९ वैशाख २०८३, बुधबार

पार्टी एकजुट नभएसम्म निष्क्रिय बस्ने सुदूरपश्चिम महामन्त्री शाहको घोषणा

अक्षरपाटी
२०८२ चैत्र १८ , बुधबार ०७:०४ मा प्रकाशित

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह मनुले पार्टी एकजुट नहुदा सम्म पार्टीबाट बाहिरने बताएका छन् ।

वर्तमान गतिविधिप्रति उनले गम्भीर असन्तुष्टि जनाउँदै यस्तो निर्णय लिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा आफू अत्यन्तै गम्भीर एवं भावुक अवस्थामा यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् ।

आफ्नो परिवार झण्डै आठ दशकदेखि नेपाली काँग्रेससँग आवद्ध रहँदै आएको छ । उनका हजुरबुबा स्व. लोकेन्द्र बहादुर शाह पूर्व जिल्ला पार्टी सभापति तथा २०१५ सालका सांसद रहेका थिए भने बुबा स्व. मोहन बहादुर शाह पनि जिल्ला पार्टी सभापति तथा पूर्व जिविस सभापति रहेका थिए । स्वयं उनी दुई कार्यकाल जिल्ला सभापति भई हाल प्रदेश महामन्त्रीको जिम्मेवारीमा छन् ।

तर, मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वको भूमिकाप्रति आफू पूर्ण असन्तुष्ट रहेको उनले उल्लेख गरेका छन् । पार्टी एकजुट भएर अघि नबढेसम्म आफूले अब कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा सहभागिता नजनाउने निर्णय लिएको बताएका छन् ।


उनले आगामी दिनमा दलगत राजनीतिबाट टाढा रहने बताउदै पार्टी विभाजनतर्फ गएमा त्यसले काँग्रेसप्रति आस्था राख्ने कार्यकर्ताहरूको भावना माथि गम्भीर आघात पुग्ने चेतावनी दिएका छन् ।

उनले पार्टीको ऐतिहासिक विरासतसँग खेलवाड नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्। आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै उनले आफू विशुद्ध नेपाली काँग्रेस भएर बाँच्न चाहने बताएका छन् ।

नेपाली कांग्रेस