Logo
६ वैशाख २०८३, आईतबार

एनपिएल देखाउने नाममा डिस होमले असुलेको रकम अझै फिर्ता गरेन, फिर्ता गर्ने वाचा उधारै, नियामक निकायको चासो

अक्षरपाटी
२०८३ वैशाख ६ , आईतबार ०६:०४ मा प्रकाशित

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) समापन भएको छ महिना भयो। तर डिस मिडिया नेटवर्क अन्तर्गतको डिस होम गो मार्फत क्रिकेट प्रेमीसँग असुलिएको रकम अझै फिर्ता नगरिएको पाइएको छ।

गत मंसिर १ देखि २७ गतेसम्म सञ्चाल भएको एनपीएल प्रसारणको अधिकार (ओभर द टप’ ओटीटी) नेपाल क्रिकेट संघ (क्यान) बाट लिएर डिस मिडियाले प्रति ग्राहक ३ सय रुपैयाँका दरले शुल्क उठाएको थियो।

प्रति ग्राहक ३ सय र कतिपयबाट तीनपटकसम्म शुल्क असुले पनि सेवा दिन नसकेपछि आलोचित बनेको डिस होमले पैसा फिर्ताको घोषणा गरेको थियो। तर कम्पनीले ग्राहकको पैसा एनपीएल सकिएको ६ महिना हुँदा पनि अझै फिर्ता नगरेर चुपचाप बसेको विषय विवादास्पद बनेको छ।

एनपीएल देखाउने भन्दै पैसा असुलेर पनि देखाउन नसकेको डिस होमले अन्य विकल्पबाट क्रिकेट हेरेमा कारवाहीको चेतावनी पनि दिएको थियो। तर, आफै सुरुवाती खेलहरू नै प्रसारण गर्न नसकेर हजारौं क्रिकेट प्रेमी ठगेको डिस होमले प्रदान नगरेको सेवाको शुल्क आजसम्म पच गरेर बसेको गुनासो उपभाेक्ताको छ।

सुरुदेखि नै खेल हेर्न उत्साहित दर्शकहरूले एपमा सस्क्रिप्सन लिँदा एउटै सेवाका लागि पटक–पटक रकम काटिएको गुनासो आज पनि व्यापक छ। कतिपय ग्राहकको खाताबाट ३ सय रुपैयाँ तीन पटकसम्म काटिँदा पनि सेवा भने दिन नसकेको गुनासो त्यतिबेलै गरेका थिए।

सेवा दिन नसकेको अवस्थामा असुलेको शुल्क तत्काल क्षतिपूर्तिसहित दिनुपर्नेमा कम्पनीले उल्टै ढिलासुस्ती र गैह्रजिम्मेवार बनेर बसेको पीडितहरूको आरोप छ।

तत्कालीन अवस्थामा आलोचना चुलिएपछि डिस मिडियाले केही खेल निःशुल्क देखाउने र बढी लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थियो। तर, एनपीएल सकिएको झण्डै ६ महिना बितिसक्दा पनि प्रतिवद्धता पूरा नगरेको गुनासो ग्राहकले गरेका छन्।

कीर्तिपुरका सुशील श्रेष्ठले भने, ‘मेरो खाताबाट नाै सय रुपैयाँ काटियो, तर फिर्ता दिने भनेको रकम अझै आएको छैन।’

प्रति ग्राहक ३ सय रुपैयाँ मात्रै उठाएको मान्ने हाे भने पनि कम्पनीले करिब ६ करोड रुपैयाँ ग्राहकबाट असुलेको छ। पटक–पटक शुल्क काटिएको तथ्यलाई आधार मान्ने हो भने यो रकम अझै बढी हुने अनुमान उपभोक्ता अधिकारकर्मीको छ।

उपभाेक्ता अधिकारकर्मी माधव तिमिल्सिना भन्छन्, ‘कम्पनी जुनसुकै होस, सेवाप्रदायकले दिन्छु भनेको सेवा नदिएर उपभाेक्ता ठग्नु सामान्य त्रुटी होइन्। यो संगठित रूपमा गरिएको आर्थिक दुरुपयोग हो।’

सेवा दिन नसके पनि डिस होमले तत्कालीन समयमा वैकल्पिक माध्यमबाट खेल हेर्ने दर्शकलाई कारबाहीको चेतावनी दिएको थियो। निकै आलोचनापछि भने उपभाेक्ताको रकम फिर्ता गर्ने वचन दिए पनि सो रकम ६ महिना बितिसक्दा पनि फिर्ता नगरिएको उपभाेक्ताले सार्वजनिक रुपमै लेख्न र बाेल्न थालेका छन्।

यस विषयमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा समेत गुनासो पुगिसकेकाे छ। उजुरी पुगे पनि प्रभावकारी छानबिनमा खरो नदेखिएको प्राधिकरणले अब भने अगाडि बढ्ने संकेत गरेकाे छ।

विभागीय मन्त्री सार्वजनिक कार्यक्रममै सेवाग्राहीमाथिको ठगी सैह्य नहुने बताएपछि प्राधिकरण समेत सक्रिय हुन लागेकाे स्रोतले बतायो।

एनपिएल डिस मिडिया