Logo
८ वैशाख २०८३, मंगलबार

हर्क साम्पाङले दिए सरकारलाई ३३ बुँदे सुझाव

अक्षरपाटी
२०८३ वैशाख ८ , मंगलबार ०३:०४ मा प्रकाशित

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल सरकारलाई ३३ बुँदे सुझाव पेश गरेका छन्।

उनले देशको नीति, अर्थतन्त्र र सामाजिक संरचनामा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। अध्यक्ष साम्पाङले प्रस्तुत गरेका प्रस्तावहरू शिक्षा, रोजगारी, सुशासन, कृषि र आर्थिक समानतामा केन्द्रित छन्।

साम्पाङले शिक्षामा व्यवहारिकता जोड्नुपर्ने भन्दै हप्ताको तीन दिन मात्र औपचारिक अध्ययन र बाँकी चार दिन श्रम, सीप, सृजनात्मक काम तथा उत्पादनमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्। उनका अनुसार यसले युवालाई आत्मनिर्भर बनाउनेछ।

विदेश नीति सम्बन्धमा उनले एमसीसी र एसपीपी जस्ता सैन्य वा रणनीतिक सम्झौताबाट टाढा रहनुपर्ने बताएका छन्। उनले यस्ता सम्झौताले राष्ट्रिय स्वाधीनतामा असर पार्न सक्ने तर्क गरेका छन्।

आर्थिक सवालमा उनले नुन, तेल र पेट्रोलियम जस्ता आधारभूत वस्तुको मूल्य सर्वसाधारणको पहुँचमा राख्नुपर्ने बताएका छन्। साथै सहकारी पीडितहरूको बचत सम्बन्धित सञ्चालकहरूको सम्पत्तिबाट फिर्ता गराउने कडा कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरेका छन्।

रोजगारीका क्षेत्रमा ‘एक परिवार, एक रोजगार’ नीति लागू गर्नुपर्ने प्रस्ताव राख्दै उनले राज्यले प्रत्येक परिवारलाई न्यूनतम आर्थिक सुरक्षाको ग्यारेन्टी दिनुपर्ने बताएका छन्।

सामाजिक समानतामा जोड दिँदै उनले ‘देश धनीको मात्र होइन, गरिबको पनि हो’ भन्ने अनुभूति जनतामा स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए।

उनले स्रोतविनाको सम्पत्ति राष्ट्रियकरण गर्ने र काम नगर्ने तथा भ्रष्ट कर्मचारीलाई बर्खास्त गर्ने कानुन निर्माण गर्न पनि माग गरेका छन्।

कृषि क्षेत्रमा उनले ‘कृषि क्रान्ति’ गाउँगाउँ र खेतबारीसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन्, जसले उत्पादन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन मद्दत गर्ने उनको विश्वास छ।

हर्क साम्पाङ