Logo
२४ वैशाख २०८३, बिहीबार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अख्तियारद्वारा पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा

अक्षरपाटी
२०८३ वैशाख २४ , बिहीबार ०५:०५ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम, सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, तत्कालीन सहसचिव केवल भण्डारी, निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्याललाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई राजश्व छुट दिइएको, सार्वजनिक स्रोतको दुरुपयोग गरिएको तथा राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको आरोप छ। सोही आधारमा आयोगले उनीहरूसँग ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको जनाएको छ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार आरोपपत्रमा चिनियाँ निर्माण कम्पनी सीएएमसी, त्यसका अध्यक्ष, परियोजना व्यवस्थापक तथा कम्पनी म्यानेजरलाई समेत प्रतिवादी बनाइएको छ।

यसअघि अख्तियारले गत मंसिर २१ गते पाँच पूर्वमन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। पोखरा विमानस्थल निर्माणमा भएको लागत, ऋण व्यवस्थापन र कर छुटसम्बन्धी विषय लामो समयदेखि विवादमा रहँदै आएको छ।

अख्तियार दुरुपयोग पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की