Logo
२५ वैशाख २०८३, शुक्रबार

सुकुम्बासी समस्या बल प्रयोगबाट होइन योजनाबद्ध ढंगले समाधान गर्नुपर्छ : सभापति थापा

अक्षरपाटी
२०८३ वैशाख २५ , शुक्रबार ०६:०५ मा प्रकाशित

काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले अतिक्रमित जमिनमा बसोबास गरेकाहरुलाई सरकारले हटाएको विषयमा प्रतिक्रिया दिएका छन्।

उनले संघीय सरकारले गरेको गलत कामहरु प्रदेश र स्थानीय सरकारहरुले नगर्न आग्रह गरेका हुन्। सञ्चारमाध्यमको विज्ञापन कटाैटी, विभिन्न कर्मचारी युनियन र ट्रेड युनियन खारेजीबारे प्रतिपक्षी दल माैन देखिए पनि सुबुम्बासीका नाममा सरकारले चालेको कदमबारे भने कांग्रेस सभापति थापाले प्रतिक्रिया दिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ छलफल श्रृंखलाअन्तर्गत सुकुम्बासी समस्या सम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुने बताए।

उनले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने स्पष्ट पारे।

उनले डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिए। ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्नु हुँदैन,’ थापाले भने।

सभापति थापाले दशकौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिए।

वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने उनको धारणा थियो।

थापाले पार्टीले यस विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै ग्रिन टेवलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने पनि जानकारी दिए।

कांग्रेसले ‘ग्रीन टेबल’ कार्यक्रममार्फत नीति निर्माण र जनसरोकारका विषयमा खुला संवाद अघि बढाउन थालेको बताएको छ।

गगनकुमार थापा नेपाली कांग्रेस सुकुम्बासी समस्या