



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यहरूको संसदीय दक्षता, नेतृत्व क्षमता र जनउत्तरदायित्व बढाउने उद्देश्यसहित दुई दिने प्रशिक्षण सुरु गर्ने भएको छ।
‘सक्षम सांसद, सशक्त संसद्’ शीर्षकमा शनिबारदेखि दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा २०८३ वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने प्रशिक्षणको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहान ११ बजे गर्ने कार्यक्रम छ।
सांसदहरूको कानुनी, नीतिगत तथा व्यवहारिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण आयोजना गरिएको जनाएको छ।
प्रशिक्षणको पहिलो दिन सदन र सरकारबीचको अन्तरसम्बन्ध, संसदीय प्रक्रिया तथा सांसदहरूको भूमिकामा केन्द्रित रहनेछ। यस क्रममा पार्टी, सरकार र सदनबीचको समन्वयबारे महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिनेछन्।
संसदीय समितिहरूमा सांसदहरूको सक्रियता र भूमिकाबारे संसदीय दलका उपनेता गणेश पराजुलीले अनुभव बाँड्नेछन् भने सचेतक निशा डाँगीले दलीय समन्वय र संसदीय अभ्याससम्बन्धी कार्यशैली प्रस्तुत गर्नेछिन्।
दोस्रो दिनको सत्र राजनीतिक आचरण, कूटनीतिक व्यवहार र आगामी निर्वाचन तयारीमा केन्द्रित हुनेछ। सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणबारे प्रशिक्षण दिनेछिन् ।
परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका विषयमा जानकारी गराउनेछन्। सह-महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक मापदण्ड तथा पार्टीको तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रशिक्षणको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य दिनेछन्। उनले पार्टीको मूल एजेन्डा, सुशासनप्रतिको प्रतिबद्धता तथा जनउत्तरदायी सांसदको भूमिकाबारे मार्गनिर्देशन गर्ने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी



