



काठमाडौं । लामो समेदेखि स्वास्थ्य सेवा, समाजसेवा, उद्यमशीलता र महिला नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै जनमैत्री हस्पिटल र नेपाल क्यान्सर हस्पिटलकी कार्यकारी निर्देशक स्वरुपा श्रेष्ठलाई ‘महिला सशक्तीकरण राष्ट्रिय सम्मान–२०८२’ बाट सम्मानित गरिएको छ।
सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित एक विशेष समारोहमा श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो। संस्थाले आइतबार उनलाई खादा, मालासहित उपसभामुख रुवी कुमारीले सम्पानपत्र प्रदान गरेकी हुन्। सम्मानपत्रमा स्वास्थ्य सेवा, उद्यमशीलता, समाजसेवा तथा महिला सशक्तीकरणको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ।
सम्मानपत्रमा जनमैत्री हस्पिटलमार्फत निर्देशक श्रेष्ठले गुणस्तरीय, सर्वसुलभ र सेवामुखी स्वास्थ्य सेवा विस्तार गर्दै बिरामीका लागि सहज उपचार प्रणाली विकासमा खेलेको भूमिकाको विशेष प्रशंसा गरिएको छ।
उपचार सेवामा पहुँच अभिवृद्धि मात्र नभइ श्रेष्ठले सामाजिक उत्तरदायित्व र नेतृत्वदायी भूमिकामार्फत महिला सशक्तीकरणमा पुर्याएको योगदानलाई समेत सम्मानको आधार बनाइएको सँस्थाले जनाएको छ।
आयोजक संस्था सगरमाथा प्रतिष्ठानका अनुसार विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै समाजमा सकारात्मक प्रेरणा फैलाउने उद्देश्यले यस्ता राष्ट्रिय सम्मान प्रदान गरिँदै आएको हो।
सो सम्मानले स्वास्थ्य क्षेत्रमा महिलाको नेतृत्व, समर्पण र सेवाभावलाई अझ प्रभावकारी बनाउँदै अन्य महिलालाई पनि नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
स्वरुपा श्रेष्ठ



