Logo
१३ जेठ २०८३, बुधबार

इजरायलमा २ हजार ३ सय केयरगिभरको माग, आवेदन खुला

अक्षरपाटी
२०८३ जेठ १३ , बुधबार १२:०५ मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गर्दै आवेदन खुलाएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोट प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार कुल माग संख्यामध्ये ६० प्रतिशत कोटा महिलाका लागि र ४० प्रतिशत पुरुषका लागि छुट्याइएको छ । छनोट भएका कामदारले मासिक ६ हजार ४ सय ४३ दशमलव ८५ इजरायली सेकेल अर्थात करिब ३ लाख ४७ हजार रुपैयाँ बराबर तलब पाउनेछन् । यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबास सुविधा समेत उपलब्ध हुने उल्लेख गरिएको छ ।

आवेदन दिन इच्छुक नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल ४५ किलोग्राम पुगेको हुनुपर्ने विभागले जनाएको छ । साथै सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव अनिवार्य गरिएको छ ।

सूचनाअनुसार श्रमिकको करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ ।

विभागले आवेदन अनलाइनमार्फत दिन सकिने जनाएको छ । आवेदन फाराम वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमार्फत उपलब्ध हुनेछ । आवेदन दिने अन्तिम मिति २०८३ असार १७ गते बेलुका ५ बजेसम्म तोकिएको छ ।

आवेदनसँगै अंग्रेजी भाषा दक्षता प्रमाणपत्र, प्रहरी रिपोर्ट, स्वास्थ्य परीक्षणसम्बन्धी कागजात तथा स्वघोषणा पत्र अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विभागका अनुसार छनोट प्रक्रिया गोलाप्रथा प्रणालीमार्फत हुनेछ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारको नामावली इजरायली पक्षलाई पठाइने र अन्तिम छनोटपछि मात्रै रोजगारी प्रक्रियामा सहभागी गराइनेछ ।

इजरायल जान छनोट भएका श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी तथा भाषा परीक्षा शुल्कलगायतका निश्चित खर्च भने आफैंले व्यहोर्नुपर्ने विभागले जनाएको छ ।

आवेदन खुल्ला इजरायल केयरगिभर