



काठमाडौं । गणतन्त्र दिवस २०८३ का अवसरमा काठमाडौंको टुँडिखेल स्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी दिवस मनाइएको छ ।
समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राष्ट्रिय झण्डा फहराइएको तथा शान्तिको कामनासहित परेवा उडाइएको थियो ।
त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौं महानगर प्रहरी बलले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहले नेपालको मौलिक कला, संस्कृति र परम्परा झल्किने झाँकी प्रदर्शन गरेका थिए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा,सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।
यस अवसरमा मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
गणतन्त्र दिवस बालेन शाह



