



काठमाडौं । देशभर दर्ता भएका सहकारी संस्थाको संख्या ३२ हजार ३२५ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुन मसान्तसम्म उक्त संख्यामा सहकारी संस्था दर्ता भएका हुन् ।
सर्वेक्षणअनुसार सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ भने यस क्षेत्रबाट ८२ हजार २१६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारी क्षेत्रको कुल शेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ पुगेको उल्लेख गरिएको छ ।
सहकारीसम्बन्धी एकीकृत तथ्यांक व्यवस्थापनका लागि विकास गरिएको ‘सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली’ (कोपोमिस) मा फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन् । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म यो संख्या १८ हजार ८९७ रहेको थियो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको पनि सर्वेक्षणमा उल्लेख छ ।
सरकारले समस्याग्रस्त घोषणा गरेका २३ सहकारी संस्थामध्ये ३ संस्थाको व्यवस्थापन तथा फर्स्योट भइसकेको छ भने बाँकी २० संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया जारी रहेको जनाइएको छ ।
विभिन्न चरणमा हालसम्म ८० हजार ८७ जना दाबीकर्ताले ४७ अर्ब ६० करोड १३ लाख रुपैयाँ बराबरको माग दाबी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ६८८ दाबीकर्तालाई पूर्ण रूपमा २ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ७६३ दाबीकर्तालाई १२ करोड २३ लाख रुपैयाँ फिर्ता गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
अर्थ मन्त्रालय सहकारी


