



काठमाडौं। प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीहरूको समस्या समाधान र उचित व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूको दीर्घकालीन व्यवस्थापन गरिने बताएका हुन्। उनले यो प्रक्रिया समय लाग्ने विषय भएकाले धैर्य गर्न आग्रह गरे।
‘म स्थानीय सरकारमा हुँदा पनि संघीय सरकारलाई यही सुझाव दिएको थिएँ कि वास्तविक सुकुमवासीलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राखेर पहिचान गर्नुपर्छ। जसको देशभर कतै पनि जग्गा छैन, त्यस्ता नागरिकलाई सरकारले जग्गाको व्यवस्था गर्नुपर्छ,’ प्रधानमन्त्री शाहले भने।
सुकुमवासी व्यवस्थापनको विषयमा हतारो गर्न नहुने उल्लेख गर्दै उनले भने, ‘३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं। केही समय लाग्छ, तर समाधान हुन्छ।’
प्रधानमन्त्री शाहले विगतदेखि नै नदी तथा खोलाकिनारमा बसोबास गर्ने नागरिकहरू बाढी, डुबान, स्वास्थ्य समस्या र असुरक्षित जीवनयापनको जोखिममा रहेको भन्दै उनीहरूको सुरक्षाका लागि तत्काल कदम चालिएको स्पष्ट पारे।
‘बाढी आउँदा घर डुबानमा पर्ने, फोहोर र दुर्गन्धका कारण स्वास्थ्य समस्या बढ्ने तथा निकासको व्यवस्था नहुँदा नागरिकहरू जोखिममा थिए। त्यसैले सरकारले उनीहरूको ज्यान जोगाउन आवश्यक कदम चालेको हो,’ उनले भने।
यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि सरकारले चालु आर्थिक वर्षभित्रै सुकुमवासीहरूको उचित व्यवस्थापन गर्ने लक्ष्यसहित काम अघि बढाएको बताएका छन्। भूमिसम्बन्धी समिति गठन भइसकेको र सम्बन्धित मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी पनि उनले दिएका छन्।
सरकारले वास्तविक सुकुमवासीको पहिचान, सुरक्षित बसोबासको व्यवस्था तथा दीर्घकालीन समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
प्रधानमन्त्री बालेन शाह सुकुमवासी समस्या



