Logo
१७ भदौ २०८३, बुधबार

रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो : प्रधानमन्त्री बालेन

अक्षरपाटी
२०८३ भदौ १७ , बुधबार ०१:०९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको विनाशकारी बाढी रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित नागरिकको पीडामा सिंगो देश एकजुट भएर उभिनुपर्ने बताए ।

‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,’ उनले भने ।

भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्र प्रभावित भएका छन् । बाढीले टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, त्रिशूली बजार र देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी १ हजार ११४ जनाको शव फेला परेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

बाढीमा रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री शाहले विपद्को यस्तो कठिन अवस्थामा थकान र व्यक्तिगत पीडाभन्दा उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।

‘शरीर थाक्यो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एक–अर्कासँग पीडा सेयर गरेर बस्ने समय छैन,’ उनले भने, विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतमा राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )