



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् उपभोगमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नहुने स्पष्ट पारेका छन् । यद्यपि अन्तिम उपभोक्तामाथि अतिरिक्त भार नपर्ने गरी विभिन्न सहुलियतका विकल्पमा सरकार छलफल गरिरहेको उनले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको पोस्ट–बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले आगामी साउनदेखि उपभोक्तालाई प्रत्यक्ष असर नपर्ने गरी व्यवस्था ल्याइने बताए ।
‘विद्युत्मा भ्याट आएको छ र यो कायम रहन्छ । तर उपभोक्तालाई मार नपर्ने गरी के–कस्ता विकल्प अपनाउन सकिन्छ भन्ने विषयमा हामी काम गरिरहेका छौं,’ उनले भने ।
आगामी आर्थिक वर्षको बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई भ्याट लगाउने व्यवस्था भएपछि यसको व्यापक आलोचना भइरहेको छ । त्यसबारे प्रतिक्रिया दिँदै वाग्लेले सरकारले जोखिम मोलेर निर्णय गरेको बताए ।
उनका अनुसार विगतमा पनि यस्तो व्यवस्था लागू गर्ने विषयमा छलफल भए पनि कार्यान्वयनको साहस कसैले गर्न सकेको थिएन । ‘यो निर्णय सजिलो थिएन, तर हामीले आवश्यक ठानेर अघि बढाएका हौं,’ उनले भने ।
वाग्लेले उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिन खोजिएको पनि बताए । सबै सेवा निःशुल्क वितरण गर्ने नीति दीर्घकालीन रूपमा उपयुक्त नहुने उल्लेख गर्दै उनले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रणालीलाई विस्तार गर्ने दिशामा सरकार अघि बढेको बताए ।
उनले सरकारले ल्याएको बजेटले आगामी पाँच वर्षका लागि आर्थिक नीतिको आधार तयार गरेको दाबी गरे । ‘असल नियत र स्पष्ट उद्देश्यका साथ अर्थतन्त्रलाई मजबुत बनाउने प्रयास गरेका छौं,’ उनले भने ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाल विद्युत् प्राधिकरण भ्याट


