



काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकतासम्बन्धी लिखत कसुरको आरोपमा मंगलबार बिहान पक्राउ परेका छन्।
जिल्ला अदालत पर्साले १२ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका सिंहलाई पर्सा प्रहरीको विशेष टोलीले ठोरी गाउँपालिका–३ स्थित एक रिसोर्टबाट पक्राउ गरेको हो। मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलिया का अनुसार बिहान करिब ६ः०७ बजे उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी राजु कार्की ले ५६ वर्षीय सिंहमाथि नागरिकतासम्बन्धी लिखत कसुरमा अनुसन्धान अघि बढाइने जानकारी दिए।
पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक भएलगत्तै सिंह सम्पर्कविहीन भएका थिए। यद्यपि, भोलिपल्ट उनी अदालतमा उपस्थित भएको विषय सार्वजनिक भए पनि त्यसपछि पुनः फरार भएका थिए। प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भइसकेको व्यक्तिलाई अदालतमा उपस्थित हुँदा प्रहरीलाई जिम्मा लगाउनुपर्ने वा जानकारी गराउनुपर्ने भए पनि त्यसो नभएकाले उनी उम्किन सफल भएका थिए।
मेयर सिंहलाई पक्राउ गर्न पर्सा प्रहरीले डीएसपी हरि बस्नेतको नेतृत्वमा विशेष टोली गठन गरेको थियो। खोजी अभियानका क्रममा प्रहरीले उनको घरमा खानतलासी गर्नुका साथै उनका निजी सचिव (पीए) सँग समेत सोधपुछ गरेको थियो। त्यसपछि प्राप्त सूचनाका आधारमा उनी ठोरीस्थित रिसोर्टबाट पक्राउ परेका हुन्।
के छ आरोप ?
मेयर सिंहविरुद्ध २०८० फागुनमा जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता भएको थियो। उनीमाथि २०७५ सालमा आफूलाई बाबु देखाएर एक युवतीलाई नेपाली नागरिकता बनाइदिएको आरोप छ।
छानबिनका क्रममा जिल्ला प्रशासन कार्यालय पर्साबाट सम्बन्धित नागरिकताको अभिलेख (अनुसूची) नै गायब भएको तथ्य सार्वजनिक भएको थियो। प्रशासनले १३ साउन २०७५ मा जारी गरिएको उक्त नागरिकतासम्बन्धी विवरण समेत फेला पारेको थियो।
यस घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले समेत छानबिन समिति गठन गरेको थियो। आरोपबारे स्पष्टीकरण दिँदै सिंहले ती युवती आफ्नी दोस्रो श्रीमतीबाट जन्मिएकी छोरी भएको दाबी गरेका थिए। तर, पछि दोस्रो श्रीमती भनिएकी महिलाले अदालतमा अंश र सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि विषय थप विवादित बनेको थियो।
सिंह जनता समाजवादी पार्टीका तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए। हाल उनीमाथि नागरिकतासम्बन्धी लिखत कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मेयर राजेशमान सिंह वीरगञ्ज


