


o अक्षरपाटी विशेष
काठमाडौँ, १२ साउन। आउँदो शनिबार मञ्चमा तीन वर्षकी एक बालिका उभिएकी हुनेछिन्। उनको प्रस्तुतिमा परिवार र सहभागीहरु गर्वले मुस्कुराइरहेको हुनेछ। त्यही मञ्चमा हुनेछिन ८७ वर्षकी वृद्धा आमा। जो आत्मविश्वासका साथ पाइला चालिरहेकी हुनेछिन्।
कसैले केमोथेरापी जितेका छन्, कसैले शल्यक्रिया गरेका अमिट दाग शरिरमा बोकेका छन्, कसैले कपाल गुमाए पनि जीवन फिर्ता पाएका छन्। उनीहरू फेसन मोडल होइनन्। न त कुनै कला प्रतियोगिताका प्रतियोगीहरु। उनीहरू हुन जीवनका विजेताहरु ।
आगामी शनिबार आयोजना हुने चौथो ‘सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो’ केवल सांस्कृतिक कार्यक्रम होइन, नेपाली समाजमा वर्षौंदेखि गडेर बसेको एउटा डरलाई चुनौती दिने अभियान हो। सकारात्मक उर्जाका लागि थालिएको आन्दोलन हो।
आन्दोलन सँधै ठूला नाराबाट जन्मिँदैन। कहिलेकाहीँ त्यो आन्दोलन एउटा दृश्यबाट, कुनै पीडाबाट, वा रातभर निदाउन नदिने एउटा प्रश्नबाट पनि जन्मनसक्छ। स्वरूपा श्रेष्ठलाई पनि यस्तै एउटा दृश्यले धेरै समय बिथोल्यो।
अस्पतालको कोठामा स्तन क्यान्सर भएको खबर सुनेकी एक युवती बेस्सरी रोइरहेकी थिइन्। उनलाई रोगभन्दा बढी भविष्यको चिन्ताले पिरोलेको थियो। परिवारको अनुहार, घरको अवस्था, समाजको दृष्टि र आफ्नै शरीरले भोग्नुपरेको पीडा, यी सबैले उनलाई एकैपटक ठूलो पहाडले झैँ थिचिरहेका थिए। केही समयपछि उनी संसारबाटै बिदाभइन्।
नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरकी निर्देशक स्वरूपालाई त्यो दृश्यले मात्रै चिमोठिरहेन उनले अर्को दृश्य पनि पटक–पटक देखिरहनुपरेको थियो। जो बाँचे, जसले क्यान्सरलाई जिते, उनीहरू पनि खुलेर हाँसिरहेका थिएनन्। क्यान्सरसँगको लडाइँमा प्राप्त गरेको विजय पनि लुकाइरहेका थिए। त्यसपछि स्वरूपाले एउटा अठोट गरिन-‘क्यान्सर जितेकाहरूलाई अब लुक्न होइन, समाजका अगाडि चम्किन सिकाउने हो।’
यही सोचबाट नेपालमा पहिलोपटक सन २०१९ बाट क्यान्सर सर्भाइभर र्याम्प शोको जन्म भयो। तर यो र्याम्प फेसनका लागि थिएन। सुन्दरताको प्रतिस्पर्धा होइन। यो त जीवनले मृत्युलाई जितेको घोषणाका रुपमा परिचित बन्दै गएको छ।
आज पनि नेपालमा क्यान्सरको कुरा हुनेबित्तिकै अधिकांश मानिसको मनमा मृत्यु, पीडा र निराशा फैलन्छ। ठूलो धनराशी खर्चेर पनि सफल नभएको कथा सञ्चारमाध्यममा कथा बन्छ।
तर अर्को पाटो पनि छ। क्यान्सर जितेर सामान्य जीवनमा फर्किएका हजारौँ नेपाली छन्। उनीहरू आफ्ना परिवारसँग हाँसिरहेका छन्, सुखदुख बाँडिरहेका छन्, काम गरिरहेका छन्, सपना बुनिरहेका छन्। तर उनीहरूको कथा प्रायः न लेखिन्छ, न कतै भनिन्छ। उनीहरूको जित आफ्नै घरको चार दिवारमा सीमित रहन्छ।
हो यही सफलता र विजयको कथालाई उजागर गर्न जन्म भएको हो ‘सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो’। नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा श्रीदीप ग्रुप प्रालिले व्यवस्गथापन गरेको र्याम्प शोमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर तथा जनमैत्री अस्पतालले सहकार्य गरेको छ। र्याम्प शोमा क्यान्सर विजेता (मिसेस नेपाल युनिभर्स २०२६) डली गुरुङ याक्थुम्बा पनि सहभागी हुनेछिन्।
एउटा र्याम्पले बदलिएको जीवन
नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष सशांक शर्माको अनुभव सुन्दा र्याम्प शोको महत्व बुझ्न मद्दत गर्छ। क्यान्सर लागेको खबरपछि उनी मानसिक रूपमा निकै कमजोर अवस्थामा थिए। सार्वजनिक रूपमा देखिन मन लाग्दैन थियो। तर स्वरूपा श्रेष्ठले त्यहीबेला र्याम्प शोमा उत्रन आग्रह गर्दा उनी चकित बने।
‘उहाँको आग्रहमा म पहिलोपटक र्याम्पमा उत्रिए’, शर्माले सुनाए, ‘त्यो र्याम्प मेरा लागि चमत्कार जस्तो भयो, मेरो मनोबल धेरै उँचो बनाइदियो।’
रोग निको पार्ने औषधि त डाक्टरले दिन सक्छन्। तर मनभित्रको डर हटाउने औषधि कहिलेकाहीँ एउटा ताली, एउटा मुस्कान, एउटा हाैसला र समाजको स्वीकारोक्ति मात्रै बन्नसक्छ। त्यही हाैसला बनेको छ क्यान्सर विजेताहरुका लागि र्याम्प शो।
रोगभभन्दा ठूलो रोग : ढिलाइ र भ्रम
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष करिब २२ हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन्। तर क्यान्सरभन्दा ठूलो समस्या ढिलो उपचार सुरु हुनु भएको उनको भनाइ छ। लक्षण देखिएदेखि अस्पताल पुग्न धेरैले महिनौँ कुर्छन्। कतिपयले नेपालमा उपचार सम्भव छैन भन्ने भ्रम पाल्छन्। त्यसपछि डर, अफवाह र अपुरा जानकारीका आधारमा विदेशतिर दौडिन्छन्।
डा. श्रेष्ठको भनाइमा आज नेपालमै क्यान्सरको निदान, शल्यक्रिया, केमोथेरापी, रेडिएसन, इम्युनोथेरापीदेखि पुनर्स्थापनासम्मका आधुनिक सेवा उपलब्ध छन्। जटिल केही अवस्थामा मात्र विदेश जानुपर्ने हुन्छ, तर त्यसलाई सबै बिरामीको नियति ठान्नु गलत हो।
जितका कथामा आशाको किरण
हामीले मृत्युका समाचार मात्रै सुन्यौँ भने क्यान्सर शब्द भयको पर्याय बन्छ। आजसम्म प्राय क्यान्सरबाट हारकै कथा मात्र बढी पस्किने गरिएको छ। तर यदि हामीले उपचारपछि सामान्य जीवनमा फर्किएका सर्भाइभरका कथा पनि सुन्यौँ भने यो आशाको प्रतीक बन्न सक्छ।
यही कारण स्वरूपा श्रेष्ठ सञ्चारमाध्यमसँग विशेष आग्रह गर्छिन्, ‘हारका कथा लेख्नेबेला जितका कथा नबिर्सिदिनुहोस्। एउटा सर्भाइभरको कथा अस्पतालको शय्यामा रहेका अर्को बिरामीका लागि बाँच्ने प्रेरणा बन्न सक्छ।
डा सुदीप श्रेष्ठ निर्देशक स्वरुपा श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल

