Logo
२२ जेठ २०८३, शुक्रबार

सुधन गुरुङमाथिको अनुसन्धान टुंगियो, प्रतिवेदन प्रधानमन्त्रीसमक्ष

अक्षरपाटी
२०८३ जेठ २२ , शुक्रबार ०२:०६ मा प्रकाशित

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ।

पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित समितिले ४५ पृष्ठको प्रतिवेदन तयार गरी बुझाएको हो। समितिले छानबिनका क्रममा गुरुङसँग बयान लिनुका साथै उनीमाथि लागेका आरोप, सम्पत्ति विवरण तथा सम्बन्धित पक्षहरूसँग आवश्यक जानकारी संकलन गरेर अध्ययन गरेको जनाएको छ।

गुरुङ व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सम्पत्ति विवरणमा सेयर लुकाएको आरोपपछि विवादमा तानिएका थिए। त्यसपछि उनले गत ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। सरकारले २८ वैशाखमा उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए। समितिले आरोपसँग सम्बन्धित विभिन्न पक्षसँग बुझ्ने, सम्पत्ति विवरण अध्ययन गर्ने तथा आवश्यक प्रमाण संकलन गर्ने कार्य सम्पन्न गरेको जनाएको छ।

हाल गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा सञ्चालन हुँदै आएको छ। समितिको प्रतिवेदनको अध्ययनपछि सरकारले आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ। छानबिनबाट आरोप पुष्टि नभए गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा पनि राजनीतिक वृत्तमा भइरहेको छ।

अनुसन्धान सुधन गुरुङ

ट्रेन्डिङ ( साप्ताहिक )