



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि केही भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको विषयलाई लिएर फैलाइएका अफवाह, टिकाटिप्पणी तथा चरित्र हत्या गर्ने प्रयासप्रति अर्थ मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ।
अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले शनिबार जारी गरेको विज्ञप्तिमा बजेट घोषणाअघि भएका केही घटनालाई आधार बनाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर र मन्त्रालयका जिम्मेवार अधिकारीहरूमाथि नियोजित रूपमा भ्रमपूर्ण प्रचार गरिएको उल्लेख गरिएको छ।
रसुवागढी नाकामा भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको भन्सार जाँचपास भएको भन्ने विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रारम्भिक अध्ययनपछि थप अनुसन्धानको सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ।
सोही सिफारिसका आधारमा जेठ २० गते रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाई भन्सार विभागमा तानिएको मन्त्रालयले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका विद्युतीय सवारीसाधनका सम्बन्धमा पनि मन्त्रालयद्वारा गठित छानबिन समितिले स्थलगत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसमेत सम्मिलित अनुसन्धान टोली फिल्डमै खटिएको छ।
प्रारम्भिक रूपमा भन्सार छलीको आशङ्कामा केही सवारीसाधन तथा आयात गर्ने कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।
विज्ञप्तिमा अनुसन्धान प्रक्रिया जारी रहेकै अवस्थामा अर्थमन्त्री, मन्त्रालयका अधिकारी तथा बजेट निर्माण प्रक्रियालाई विवादमा तान्ने उद्देश्यले विभिन्न माध्यमबाट प्रचारबाजी र ‘मिडिया ट्रायल’ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
मन्त्रालयले यस्तो कार्यमा संलग्न केही व्यक्तिविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको र अन्य सम्बन्धित व्यक्तिमाथि पनि कानुनी उपचार खोज्ने प्रक्रिया अगाडि बढाइने जनाएको छ।




