Logo
३१ जेठ २०८३, आईतबार

रास्वपा लुम्बिनीको नेतृत्व शालिकरामलाई, सहमतिमै टुंगियो सभापतिको प्रतिस्पर्धा

अक्षरपाटी
२०८३ जेठ ३१ , आईतबार १०:०६ मा प्रकाशित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे प्रदेश सभापतिमा चयन भएका छन्। दोस्रो चरणको निर्वाचन हुने तयारी भइरहेका बेला उनका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन जनाएपछि शालिकरामको नेतृत्व सुनिश्चित भएको हो।

सभापति पदका लागि भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन्। सबैभन्दा बढी मत ल्याएका शालिकराम घिमिरेले १९९ मत प्राप्त गरेका थिए भने गोपाल घिमिरेले ८७ मत पाएका थिए। दोस्रो चरणको निर्वाचनको तयारी भइरहेका बेला गोपालले समर्थन जनाएपछि शालिकरामलाई निर्वाचित घोषणा गरिएको रास्वपाका नेता डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।

अधिवेशनमा कुल ८४३ प्रतिनिधि मतदाता रहेकामा ५५२ मत खसेको थियो।

सभापति चयन भएसँगै अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष पदमा सहमति खोज्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्। अधिकांश प्रतिनिधि घर फर्किसकेकाले बाँकी पदाधिकारीहरू पनि सहमतिका आधारमा चयन गर्ने सम्भावना बढेको जनाइएको छ।

रास्वपाका नेता सहयोगी बीसीका अनुसार मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति न्यून रहेकाले अन्य पदमा निर्वाचन गराउने वा नगर्ने विषय अनिश्चित बनेको छ। प्रदेश प्रवक्ताको जिम्मेवारी भने मनोनयनमार्फत तोकिने व्यवस्था रहेको छ।

यता अधिवेशनमा सहभागी केही प्रतिनिधिले बन्दसत्रमा पार्टीको नीति, विचार र संगठनात्मक दिशाबारे पर्याप्त छलफल नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी शालिकराम घिमिरे

ट्रेन्डिङ ( साप्ताहिक )