


ललितपुरको नखिपोटमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति’ साक्षात्कार कार्यक्रम तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले अबको राजनीति पुराना शैलीबाट होइन, परिणाममुखी काम, सुशासन र युवा सहभागिताबाट अघि बढ्नुपर्ने धारणा राखे।
उनले नेपाली कांग्रेसलाई केवल निर्वाचन जित्ने पार्टीका रूपमा होइन, देशको विकास, सुशासन र जनविश्वास पुनःस्थापित गर्ने शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। युवाहरूका प्रश्न, सुझाव र आलोचनालाई पार्टीले सकारात्मक रूपमा ग्रहण गर्ने भन्दै नयाँ पुस्ताको ऊर्जा र क्षमताको उचित उपयोग गर्नुपर्नेमा जोड दिए।
सभापति थापाले लोकतान्त्रिक मूल्य–मान्यता, पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउँदै कांग्रेसलाई आधुनिक र जनमुखी संगठनका रूपमा रूपान्तरण गर्ने अभियान जारी रहेको बताए। उनले देशमा बढ्दो निराशा अन्त्य गर्न राजनीतिक दलहरूले व्यवहारमै परिवर्तन देखाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सन्त नेता कृष्णप्रसाद भट्टराईको योगदानको स्मरण गर्दै उनको सालिक अनावरण गरिएको थियो। वक्ताहरूले भट्टराईको सादगी, नैतिकता र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, युवा, शुभेच्छुक तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। साक्षात्कार कार्यक्रममा युवाहरूले समसामयिक राजनीति, पार्टी सुधार, रोजगारी, सुशासन तथा नेतृत्व हस्तान्तरणलगायत विषयमा सभापति थापासँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए।
गगन थापा नेपाली काँग्रेस

