


काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस (EPS) कोरिया शाखाले रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। नेपाल र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार यसपटक ७ हजार २ सय जना कामदारको माग आएको हो।
एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय तथा वन क्षेत्रमा १ सय जना गरी कुल ७ हजार २ सय जनाको माग गरेको छ। सोही मागका आधारमा भाषा परीक्षाका लागि आवेदन आह्वान गरिएको हो।
ईपीएस कोरिया शाखाका अनुसार आवेदन अनलाइनमार्फत २७ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्म दिन सकिनेछ। आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ।
आवेदन दिन इच्छुक उम्मेदवार १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै अदालतबाट फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसोबास नगरेको, नेपाल सरकारले वैदेशिक रोजगारीमा जान रोक नलगाएको तथा कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने व्यवस्था गरिएको छ।
भाषा परीक्षा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको नतिजा प्रकाशित भएपछि मात्र दोस्रो चरणको परीक्षा लिइनेछ। अन्तिम परीक्षामा सफल उम्मेदवारको नतिजा २ वर्षसम्म वैध रहने शाखाले जनाएको छ।
यद्यपि, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको भन्दै ईपीएस कोरिया शाखाले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै रोजगारका लागि छनोट हुने स्पष्ट पारेको छ।
कोरियन भाषा परीक्षा

