Logo
७ साउन २०८३, बिहीबार

प्रधानमन्त्री शाहले अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग छलफल गर्दै

अक्षरपाटी
२०८३ साउन ७ , बिहीबार ११:०७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उद्योग, व्यवसाय तथा लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिएका छन्।

यसै सिलसिलामा प्रधानमन्त्री शाहले आज केहीबेरमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा अर्ग्यानिक क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन्।

नेपाल अर्ग्यानिक संघ जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनका क्षेत्रमा क्रियाशील संस्था हो।

छलफलमा अर्ग्यानिक कृषि उत्पादनको विस्तार, प्रशोधन उद्योगको विकास, बजार व्यवस्थापन, निर्यात प्रवर्द्धन तथा यस क्षेत्रका व्यवसायीले भोगिरहेका समस्या र समाधानका उपायबारे विचार–विमर्श हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीसँग नियमित छलफल गर्दै उनीहरूका जायज माग, सुझाव र समस्यालाई प्रत्यक्ष रूपमा सुन्ने तथा नीतिगत सुधारमार्फत उद्योग–व्यवसायमैत्री वातावरण निर्माण गर्ने पहललाई निरन्तरता दिँदै आएका छन्।

कैफियत देखिएका व्यापारी तथा व्यवसायीप्रति कडा रूपमा प्रस्तुत भएका प्रधानमन्त्री शाह निजी क्षेत्रसँग सहकार्य र संवादलाई प्राथमिकतामा राख्दै उत्पादन, रोजगारी र आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ विभिन्न व्यावसायिक संघ–संस्थासँग नियमित भेटघाट गरिरहेका छन्।

सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई आर्थिक पुनरुत्थान र उत्पादनमुखी अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने जनाएको छ।

प्रधानमन्त्री बालेन शाह