Logo
१५ साउन २०८३, शुक्रबार

निर्मल पुर्जाको सकुशल उद्धारका लागि कांग्रेसको सरकार र पाकिस्तानसँग आग्रह

अक्षरपाटी
२०८३ साउन १५ , शुक्रबार ०८:०७ मा प्रकाशित

काठमाडौं। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) पाकिस्तानस्थित ब्रड पिक क्षेत्रमा हिमपहिरोमा परेको घटनापछि सम्पर्कविहीन रहेको खबरप्रति नेपाली कांग्रेसले गहिरो चिन्ता र दुःख व्यक्त गरेको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत कांग्रेसले पुर्जाको सकुशल खोजी तथा उद्धारका लागि सबै पक्षसँग सक्रिय पहलका लागि आग्रह गरेको छ।

कांग्रेसले निर्मल पुर्जालाई नेपालको साहस, आत्मविश्वास, अदम्य इच्छाशक्ति, नेतृत्व क्षमता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा उल्लेख गर्दै उनले विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई अभूतपूर्व उचाइमा पुर्‍याएको जनाएको छ।

विज्ञप्तिमा पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेको, उनकै नेतृत्वमा नेपाली टोलीले विश्वकै दोस्रो अग्लो हिमाल केटु (K2) को इतिहासमै पहिलो सफल शीतकालीन आरोहण सम्पन्न गरेको तथा Beyond Possible पुस्तक र 14 Peaks: Nothing Is Impossible नामक नेटफ्लिक्स वृत्तचित्रमार्फत नेपालको पर्वतारोहण परम्परा र नेपाली पर्वतारोहीहरूको क्षमता विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ।

त्यस्तै पर्यटन प्रवर्द्धन, हिमाली समुदायको उत्थान, वातावरण संरक्षण, उद्धार कार्य तथा सामाजिक सेवामा पुर्जाले पुर्‍याएको योगदान अत्यन्त प्रशंसनीय रहेको कांग्रेसको भनाइ छ।

कांग्रेसले पाकिस्तान सरकार, सम्बन्धित सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार संयन्त्रलाई उपलब्ध सबै स्रोत, साधन, प्रविधि र विशेषज्ञ जनशक्तिको अधिकतम परिचालन गरी खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ प्रभावकारी बनाउन आग्रह गरेको छ।

साथै नेपाल सरकारलाई पाकिस्तान सरकार, नेपाली दूतावास तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायसँग उच्चस्तरीय कूटनीतिक समन्वय गर्दै आवश्यक सहयोग, सूचना आदानप्रदान र उद्धार प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

निर्मल पुर्जा नेपाली कांग्रेस