Logo
३१ साउन २०८३, आईतबार

मानव सेवा आश्रमलाई बालबालिकाको तस्विर सामाजिक सञ्चलमा नराख्न कडा निर्देशन

अक्षरपाटी
२०८३ साउन १९ , मंगलबार ०८:०८ मा प्रकाशित

काठमाडौं । मानव सेवा आश्रमलाई बालबालिकाको तस्विर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा प्रकाशित सामग्री तत्काल हटाउन राष्ट्रिय बाल अधिकार परिषद्ले कडा निर्देशन दिएको छ।

परिषद्ले काठमाडौं महानगरपालिका २६ स्थित मानव सेवा आश्रमलाई बालगृहको संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्विर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन नगर्न र यसअघि सार्वजनिक गरिएका त्यस्ता सबै सामग्री तत्काल हटाउन निर्देशन दिएको हो।

परिषद्ले आश्रमलाई पठाएको पत्रमा संरक्षणमा रहेका बालबालिकाको तस्विर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै बालबालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको संरक्षण सुनिश्चित गर्न उक्त निर्देशन जारी गरिएको जनाएको छ।

परिषद्ले बाल गृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ को मापदण्ड ९९१३० बमोजिम बालबालिकाको गोपनीयता र आत्मसम्मानको संरक्षणका लागि उनीहरूको पहिचान खुल्ने गरी तस्विर वा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।

बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक हुँदा उनीहरूको गोपनीयता, सुरक्षा, आत्मसम्मान तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन प्रतिकूल असर पर्न सक्ने उल्लेख गर्दै परिषद्ले प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्न, आगामी दिनमा यस्ता सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा हालसम्म सार्वजनिक गरिएका सम्पूर्ण तस्वीर तथा भिडियो तत्काल हटाउन मानव सेवा आश्रमलाई निर्देशन दिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्ले बाल संरक्षणसम्बन्धी सबै निकाय, बालगृह तथा सरोकारवालालाई बालबालिकाको गोपनीयता, मर्यादा, सुरक्षा र सर्वोत्तम हितलाई केन्द्रमा राखी प्रचलित कानुन तथा बाल अधिकारसम्बन्धी मापदण्डको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको छ।

मानव सेवा आश्रम राष्ट्रिय बाल अधिकार परिषद्