


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी मंसिरअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले जस्तोसुकै प्रतिकूल अवस्था आए पनि निर्धारित समयभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन्। उनले आगामी महाधिवेशनबाट महामन्त्री गगन थापालाई ७१ प्रतिशत मतसहित सभापति बनाउने आफूहरूको प्रतिबद्धता रहेकोसमेत बताए।
‘१५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ। ५१ प्रतिशत होइन, अब ७१ प्रतिशत मत ल्याएर गगन थापालाई सभापति बनाउन प्रतिबद्ध छौँ,’ शर्माले भने।
शर्माले पार्टीभित्र असन्तुष्ट समूहले आयोजना गरेको भेलाप्रति पनि टिप्पणी गरेका छन्। उनले उक्त भेलालाई ‘दोस्रो निन्दा सम्मेलन’को संज्ञा दिँदै यस्ता गतिविधिले पार्टीलाई बलियो बनाउन सहयोग नगर्ने बताए।
यसअघि बीपी स्मृति दिवसका अवसरमा कांग्रेसको संस्थापन पक्षविरुद्ध असन्तुष्ट समूहले विभिन्न टिप्पणी गरेको प्रसंग उल्लेख गर्दै शर्माले अहिलेको भेलासमेत त्यही शैलीमा अघि बढे पार्टीका लागि सकारात्मक नहुने धारणा राखे।
उनका अनुसार पार्टीभित्रका मतभेद र असन्तुष्टिलाई छलफल तथा संगठन सुदृढीकरणमार्फत समाधान गर्दै महाधिवेशनतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ।
गगन थापा नेपाली कांग्रेस विश्वप्रकाश शर्मा

