


महिलाप्रतिको दृष्टिकोणमा नैतिक प्रश्न उठेका व्यक्तिलाई नियुक्त गरिएको एमाले सांसद लिम्बुको आरोप
काठमाडौं । साहित्यकार कुमार नगरकोटीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति नियुक्त गरिएको विषयमा संसदमा प्रश्न उठेको छ । नेकपा एमालेकी सांसद भूमिका लिम्बुले महिलाप्रतिको दृष्टिकोण र सार्वजनिक अभिव्यक्तिमाथि नैतिक प्रश्न उठेका व्यक्तिलाई प्रतिष्ठानको नेतृत्वमा नियुक्त गरिएको भन्दै सरकारको निर्णयप्रति आपत्ति जनाएकी हुन् ।
संसद् बैठकमा बोल्दै सांसद लिम्बुले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा सदस्य नियुक्तिको प्रक्रिया पारदर्शी नभएको आरोप लगाइन् । उनले सरकारले योग्य व्यक्ति छनोट गर्ने भन्दै आवेदन मागे पनि सिफारिस समिति र मन्त्रालयले भित्रभित्रै नाम संकलन गरेको दाबी गरिन् ।
‘तीन महिनाअघि दरखास्त आह्वान गरियो । तर सिफारिस समिति र मन्त्रालयले भित्रभित्रै नाम संकलन गर्यो । कसले दरखास्त हाल्यो भन्ने पारदर्शिता भएन । एकैपटक नियुक्ति पाएकाहरूको सूची सार्वजनिक गरियो,’ उनले भनिन् ।
आवेदकको सर्टलिस्ट सार्वजनिक नगरिएको तथा अन्तर्वार्ता भए–नभएको विषयमा समेत उनले प्रश्न उठाइन् । ‘आवेदकहरूको सर्टलिस्ट कहाँ छ ? अन्तर्वार्ता भयो कि भएन ? आफ्नै मान्छेलाई ल्याउनु छ भने दरखास्तको नाटक किन गरियो ?’ लिम्बुले प्रश्न गरिन् ।
प्रज्ञा–प्रतिष्ठान सामान्य सरकारी जागिर खाने निकाय मात्र नभएको बताउँदै उनले देशको भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने संस्थाको नेतृत्वमा पुग्ने व्यक्तिको प्राज्ञिक योग्यतासँगै नैतिक आचरणसमेत मूल्यांकन हुनुपर्ने बताइन् ।
नगरकोटीको नियुक्तिलाई लक्षित गर्दै लिम्बुले महिलाप्रतिको सोच, दृष्टिकोण र सार्वजनिक भाषाशैलीका विषयमा नैतिक प्रश्न उठेका व्यक्तिलाई प्रतिष्ठानको कुलपति बनाइनु आफैंमा गम्भीर विषय भएको बताइन् ।
‘सरकारले महिलाप्रतिको सोच, दृष्टिकोण र सार्वजनिक भाषाशैलीमाथि नैतिक प्रश्न उठेको व्यक्तिलाई कुलपति बनाउनु आफैंमा गम्भीर नैतिक प्रश्न हो । यो सदनमा प्रतिनिधित्व गर्ने ३५ प्रतिशत महिला माननीय र आम नेपाली महिलाप्रतिको अपमान हो,’ उनले भनिन् ।
सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको महिलाप्रतिको दृष्टिकोण र नैतिक आचरणको मूल्यांकन हुनुपर्नेमा जोड दिँदै उनले प्रश्न गरिन्, ‘कुलपति बन्न प्राज्ञिक मात्र भएर पुग्ने कि नैतिक आचरण पनि शुद्ध हुनुपर्छ रु’
उनले अघिल्लो सरकारले गरेका प्रज्ञा–प्रतिष्ठानका नियुक्ति अध्यादेशमार्फत खारेज गरी योग्य व्यक्ति ल्याउने भनिए पनि नयाँ नियुक्ति प्रक्रियासमेत पारदर्शी नभएको आरोप लगाइन् ।
कुमार नगरकोटी नेपाल प्रज्ञा–प्रतिष्ठान

