Logo
९ भदौ २०८३, मंगलबार

क्यानडाले माग्यो दक्ष स्वास्थ्यकर्मी, नेपाली नर्सदेखि फार्मासिस्टसम्मलाई अवसर

अक्षरपाटी
२०८३ भदौ ९ , मंगलबार १२:०८ मा प्रकाशित

काठमाडौं । क्यानडाले स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रमा रहेको जनशक्ति अभाव पूर्ति गर्न विश्वभरका दक्ष जनशक्तिलाई आकर्षित गर्ने भएको छ। यसअन्तर्गत नेपालका योग्य स्वास्थ्यकर्मीले समेत सम्बन्धित आप्रवासन कार्यक्रममार्फत क्यानडा जाने अवसर खोज्न सक्नेछन्।

क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता विभाग (आईआरसीसी) ले नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, मनोवैज्ञानिक र सामाजिक कार्यकर्ता लगायतका पेशालाई स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रअन्तर्गत प्राथमिकतामा राखेको छ।

स्वास्थ्य तथा सामाजिक सेवासँगै क्यानडाले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (एसटीईएम), दक्ष व्यापार, शिक्षा र यातायात क्षेत्रका दक्ष जनशक्तिलाई समेत प्राथमिकता दिएको छ।

स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रअन्तर्गत पछिल्लो तीन वर्षभित्र सम्बन्धित पेशामा कम्तीमा १२ महिनाको पूर्णकालीन वा सो बराबरको आंशिक कामको अनुभव भएका उम्मेदवारलाई योग्यताका आधारमा एक्सप्रेस इन्ट्रीको श्रेणीमा समेट्न सकिने व्यवस्था छ। यस्तो कार्य अनुभव क्यानडाभित्र वा विदेशमा हासिल गरेको भए पनि मान्य हुन सक्छ।

तर स्वास्थ्य क्षेत्रका कतिपय पेशा क्यानडामा नियमन हुने भएकाले विदेशमा प्राप्त शैक्षिक योग्यता, प्रमाणपत्र तथा व्यावसायिक योग्यतालाई सम्बन्धित क्यानाडाली निकायबाट मान्यता दिलाउनुपर्ने हुन सक्छ।

यसअनुसार नेपालका नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, मनोवैज्ञानिक, सामाजिक कार्यकर्तालगायत दक्ष स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव तथा सम्बन्धित आप्रवासन कार्यक्रमको मापदण्ड जाँच गरी आवेदन प्रक्रिया अघि बढाउन सक्नेछन्।

क्यानडाको यो पहलले स्वास्थ्य क्षेत्रमा दक्षता र अनुभव भएका नेपाली जनशक्तिका लागि समेत रोजगारी तथा आप्रवासनको नयाँ अवसर सिर्जना गर्ने देखिएको छ।

क्यानडा

ट्रेन्डिङ ( साप्ताहिक )