


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन्।
उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गरेका छन्।
बाढीका कारण उत्पन्न विपद्को सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारबीच समन्वय गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उनले सरकारसँग आग्रह गरेका छन्।
विपद् व्यवस्थापनका लागि सरकारले अघि बढाउने प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने उनले बताएका छन्।
थापाले नेपाली कांग्रेसका सबै तहका समिति तथा नेता–कार्यकर्तालाई समेत उद्धार तथा राहतमा सक्रिय रूपमा परिचालन हुन आग्रह गरेका छन्।
विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका पार्टी नेतृत्व तथा सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उद्धार तथा राहत कार्यमा तत्काल जुट्न उनले अपिल गरेका छन्।
गगन थापा नेपाली कांग्रेस

