



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले नेपाल–चीन सीमाक्षेत्र रसुवागढी तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा रकम उपलब्ध गराउने निर्णय गरेको हो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ को नियम ४ बमोजिम गठित कोष सञ्चालन समितिको बैठकले उक्त निर्णय गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा एभरेष्ट बैंक, सिंहदरबार शाखामा रहेको खातामा मौज्दात १ अर्ब रुपैयाँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिमको विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइनेछ।
बैठकमा गृह मन्त्रालयका सचिव केदारनाथ शर्मा, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव मदन भुजेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी, कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवलगायत सहभागी थिए।
सरकारले उक्त रकम बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा प्रयोग गर्ने जनाएको छ।
रसुवाको भोटेकोशी बाढीले रसुवासहित आसपासका तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ।
उद्धार कोष डा. गुणाकर भट्ट

