



काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म देशका विभिन्न स्थानबाट १ हजार ११४ जनाको शव फेला परेको हो ।
सबैभन्दा बढी चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, गोरखामा ६६, धादिङमा ५९, तनहुँमा ३८ र रसुवामा ४१ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेमा स्थानीय बासिन्दादेखि सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक तथा जलविद्युत् आयोजनामा कार्यरत श्रमिकसमेत रहेका छन् ।
विपद्मा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ । नेपाली सेनाको हवाई उद्धारमार्फत मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको छ ।
बाढीमा परी घाइते भएका २१२ जनामध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
उद्धार तथा सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन् ।
प्रभावित क्षेत्रबाट उद्धार गरिएका ३ हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । तीमध्ये सबैभन्दा धेरै नुवाकोटमा २ हजार ४६६ जना रहेका छन् ।
यसैबीच, संघीय सरकारले विपद् प्रभावित जिल्लाका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । अन्य १५ प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ ।
रसुवा बाढी

