


काठमाडौं २२ असोज। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा आरम्भ गरेका नेताहरूले पार्टी हाँक्ने ठाउँमा आइपुगेका छन्।
कांग्रेस कार्यकर्ता उत्पादनको नर्सरी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवं उपाध्यक्ष गगनकुमार थापाले सभापति बनेर पार्टीको नेतृत्व गर्ने निश्चित हुँदा पूर्वअध्यक्षहरू महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।
कांग्रेसको १५ औँ महाधिवेशनको निर्वाचन समितिका अनुसार नेवि संघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा पार्टीको वरिष्ठ उपसभापतिमा सर्वसम्मत चयन भएका छन्।
सभापति पदमा उम्मेदारी दिए पनि सभापतिमा गगनकुमार थापालाई समर्थन गर्दै पूर्वअध्यक्ष किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए। कांग्रेस उपसभापतिमा नेवि संघकै पूर्वअध्यक्ष धनराज गुरुङ, गोविन्द भट्टराई र रञ्जीत कर्णले प्रतिस्पर्धा गर्दैछन्।
गुरुङ र भट्टराई खुला प्रतिस्पर्धामा रहेका छन्। समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिएका कर्णले नेपाल विद्यार्थी संघको २० वर्षसम्म हुन नसकेको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गरेका थिए। विद्यार्थी राजनीतिबाट उदाएका नेता कर्ण सभापति थापाकै समकालीन हुन्।
पूर्वअध्यक्ष गुरुराज घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। पूर्वअध्यक्ष राजीव ढुंगाना सहमहामन्त्री पदको प्रतिस्पर्धामा छन्।
विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्री भएका घिमिरे, महर र पौडेल सिद्धान्तमा अडिग र बौद्धिकता बोकेका नेताका रुपमा परिचित छन्। महतको सांगठनिक पकड राम्रो छ।
सभापति गगनकुमार थापाले विद्यार्थीकालदेखि नै राजनीतिक संघर्षमा होमिएका नेताहरू समेटेर पार्टी पदाधिकारीको टिम बनाउने मनस्थिति बनाउँदा नेवि संघको नेतृत्व र पदाधिकारीमा बसेर काम गरेका नेताहरू पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्।
सभापति थापाले पनि विद्यार्थी राजनीतिबाटै आएका अनुभवी नेताहरू पदाधिकारी निर्वाचित हुँदा पार्टी सञ्चालनमा सहयोग पुग्नेमा प्रस्ट भए पनि औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
कर्णले कांग्रेसको रुपान्तरणका पक्षमा विद्यार्थी र तरुण दलबाट राजनीतिक अघि बढाएका सबै नेता–कार्यकर्ताले योगदान दिन र काम गर्न सक्ने बताए।
नेवि संघकै पूर्वअध्यक्ष नैनसिंह महरले विद्यार्थी राजनीतिबाट उदाएका अग्रज नेता र समकालीन नेताबिच समन्वय र दृष्टिकोण मिल्ने भएकाले कांग्रेसलाई नयाँ मार्गचित्रका साथ अघि बढाउने बताए।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन

