




काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसले वैकल्पिक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो।
कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको, तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको आरोप लगाएको छ।
बैठकले यस्तो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ।
राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई आश्रय दिनुपर्नेमा बाँकी रहेको आश्रयसमेत खोस्न नहुने कांग्रेसको भनाइ छ।
कांग्रेसले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्ने जनाएको छ।
होल्डिङ सेन्टर समन्वयका लागि समिति
कांग्रेसले होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन्।
यसैबीच, मंसिर ८ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा आजसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।
धारणा राख्ने क्रम जारी रहेकाले बैठक मंसिर ११ गते शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।
बैठकमा केन्द्रीय सदस्यहरू, विभिन्न प्रदेशका सभापति तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले समेत विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए। विदेशमा रहेका केही केन्द्रीय सदस्यहरूले लिखित रूपमा धारणा पठाएका छन्।
गगन थापा नेपाली कांग्रेस

