


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
पराजित भएपछि उनले धारणा सार्वजनिक गर्दै आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पार्दै पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो यात्रा निरन्तर अघि बढ्ने बताएका छन्।
‘कांग्रेस बदल्ने हुटहुटी साकार होस् र परिवर्तनको संकल्पले सार्थकता पाओस्। पार्टीलाई नयाँ सोच, असल राजनीतिक संस्कार, जिम्मेवार व्यवहार र परिणाममुखी कार्यशैलीसहित अघि बढाउने सवालमा हामी सँगै रहनेछौँ’,महरले भनेका छन्।
उनले महाधिवेशनका क्रममा प्राप्त विश्वास, माया र सद्भावलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण ऊर्जा र जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेका छन्।
उनका अनुसार राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक यात्राको एउटा चरण मात्रै हो; विचार, मूल्य, निष्ठा र परिवर्तनप्रतिको प्रतिबद्धता नै राजनीतिक यात्राका स्थायी आधार हुन्।
महरले समाज परिवर्तनका लागि राजनीति बदलिनुपर्ने, राजनीति बदल्न राजनीतिक संस्कार बदलिनुपर्ने र राजनीतिक संस्कार बदल्न नेतृत्वको चाल, चरित्र र चेहरामा सकारात्मक परिवर्तन आउनुपर्ने धारणा अघि सारेका छन्।
‘चालमा इमानदारी, चरित्रमा निष्ठा र चेहरामा विश्वास हुनुपर्छ। विचारमा नवीनता, व्यवहारमा शालीनता र कर्ममा परिणाम देखिनुपर्छ,’ उनले आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट पार्दै समाजिक सन्जाल फेसबसकमा भनेका छन्।
उनले नेपाली कांग्रेसलाई समयानुकूल, विचारप्रधान, जनताप्रति उत्तरदायी र परिणाममुखी पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण, आपसी सहकार्य र सकारात्मक परिवर्तनका पक्षमा आफ्नो भूमिका अझ जिम्मेवार ढंगले अघि बढ्ने उनको भनाइ छ।
महरको सन्देशले महाधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत जित–हारभन्दा माथि उठेर पार्टी रूपान्तरणको बृहत्तर यात्रासँग जोड्ने प्रयास गरेको छ।
नेतृत्वमा आउने परिवर्तनलाई संगठन, कार्यशैली र राजनीतिक संस्कारमा देखिने परिवर्तनसँग जोड्नुपर्ने उनको दृष्टिकोण छ।
‘सकारात्मक परिवर्तनको यात्रा कुनै पद, प्रतिस्पर्धा वा परिणाममा रोकिने छैन। कांग्रेसको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनले सार्थक गन्तव्य प्राप्त नगरेसम्म मेरो अभियान अथक, अविचल र निरन्तर अघि बढिरहनेछ,महरले उल्लेख गरेका छन्।
उनले आफ्नो राजनीतिक यात्राको मूल मर्म हिजो पनि परिवर्तन, आज पनि परिवर्तन र भोलि पनि सकारात्मक परिवर्तन नै रहने स्पष्ट पार्दै आशा, विश्वास र नयाँ सम्भावनासहित अघि बढ्ने सन्देश दिएका छन्।
पद एउटा अवसर हो, तर परिवर्तन जीवनभरको प्रतिबद्धता हो भन्ने भावसहित महरले कांग्रेसको उज्ज्वल भविष्य र असल राजनीतिक संस्कार निर्माणका लागि सहकार्यको ढोका खुला राखेका छन्।


