Logo
९ कात्तिक २०८३, सोमबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन, पहिलो खेलमा लुम्बिनीले जित्यो टस

अक्षरपाटी
२०८३ कात्तिक ९ , सोमबार ०५:१० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण उद्घाटन गरेका छन्।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उद्घाटन गरेका हुन्।

‘फेस्टिभल अफ हिमालयज’का रूपमा प्रचार गरिएको एनपीएलको तेस्रो संस्करण सुरु भएसँगै नेपाली क्रिकेटमा उत्सवको माहोल छाएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री शाहको उपस्थितिले खेलाडी तथा क्रिकेटप्रेमीमा थप उत्साह थपेको छ।

उद्घाटनपछि प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। टस हारेको सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्।

स्वदेशी तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहेको प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेल पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल प्रिमियर लिग बालेन्द्र शाह
यो पनि हेर्नुहोस् : एलिट लोकतन्त्र र नेपाल

ट्रेन्डिङ ( साप्ताहिक )