




काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा मंगलबार काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी तथा दुई देशबीचको उच्चस्तरीय संवादलाई अघि बढाउने उद्देश्यले मिश्री नेपाल आएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मिश्रीलाई नेपालका लागि भारतीय राजदूत तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन्। भ्रमणका क्रममा मिश्रीले मंगलबारै परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग समेत शिष्टाचार भेट गर्ने तयारी रहेको बुझिएको छ।
मिश्रीको भ्रमणलाई प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीसँगै नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, विकास साझेदारी तथा आगामी उच्चस्तरीय भ्रमणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमण सकेर बुधबार नै नयाँदिल्ली फर्किने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ।
विक्रम मिश्री

